दशवर्षे गुरुयोजनासहित रामघाटलाई विकास गरिँदै

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । पाल्पाको प्रख्यात मानिँदै आएको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रामघाटको विकासमा दशवर्षे गुरुयोजनासहित भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका–५मा रहेको यस रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न अहिले रामघाट संरक्षण समितिले दशवर्षे गुरुयोजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य शुरु गरिरहेको हो । रामघाटमा विसं १८८९ मा स्थापना गरिएको पुरानो लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार, दुई कोठे धर्मशाला, तीन कोठे पुजारी बसोबास गर्ने घर, मन्दिर प्रवेशद्वार, खानेपानी ट्याङ्की, सत्तल पुनःनिर्माण, चौतारी निर्माण, चारैतिर कम्पाउण्ड, फूलबारी निर्माण गरिएको लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन् । मन्दिरको वातावरणलाई सौहार्द्र र हराभरा बनाउनका लागि विभिन्न जातका करिब १०० फलफूलका बिरुवासमेत लगाइएको छ । दशवर्षे गुरुयोजनाअनुसार अबको १० वर्षभित्रमा यहाँ ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना, किरियाघर निर्माण, एक हजार आठ शालिग्राम जडित पानीको फोहोरासहितको शान्तिबाटिका निर्माण, रामपुरको बेझाड बजारदेखि रामघाट क्षेत्रसम्मको सडक स्तरोन्नतिलगायतका काम सम्पन्न गर्ने गरी समिति अगाडि बढिरहेको उनले बताए । दशवर्षे गुरुयोजनाअनुसार काम सम्पन्न भएपछि रामघाट क्षेत्रको दर्शन र अवलोकनका निम्ति दैनिक २०० भन्दा बढी पर्यटक भित्र्याउने समितिको लक्ष्य छ । नेपालकै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग यो क्षेत्र जोडिएकाले पनि यहाँ भविष्यमा पर्यटकको ओइरो लाग्ने अनुमान गरिएको छ ।
पौराणिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनवास जाँदा कालीगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुन गएको हो । तत्कालीन समयमा यसै स्थानमा ऋषिमुनिले यज्ञ गरेको धार्मिक किंवदन्ती पनि छ ।
विसं १८७० को समयतिर सोही स्थानमा बसोबास गरेका स्थानीयवासी तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गरेका हुन् । सो मन्दिर स्थापनाकालदेखि नै हालसम्म रेग्मी परिवारको निगरानीमा नियमित मन्दिरमा पूजाआजा हुँदै आएको छ ।
मन्दिरको स्वामित्वमा दर्ता भएको एक हजार १०० रोपनी र दर्ता नभएको एक हजार रोपनी जग्गा छ । यही जग्गालाई राम्रोसँग भोगचलन गर्न सकियो भने पनि मन्दिर सञ्चालनमा कुनै समस्या छैन । प्रशस्त जग्गा रहेकाले यसको दशवर्षे गुरुयोजना साकार पार्न सकिने लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका सदस्य गुरुप्रसाद रेग्मीको भनाइ छ । मन्दिरको जग्गा भोगचलन गर्दै आइरहेका मोहीहरुले उब्जनीको केही आयस्ता नबुझाउँदा पनि यसले समयमा नै फड्को मार्न नसकेको रेग्मी बताउँछन् ।‘अब मोहीहरुबाट नियमित आयस्ता उठाउने, नगरपालिका र विभिन्न संघसंस्थासँग सहयोग जुटाएर तोकिएको समयमा गुरुयोजना साकार पार्ने कोशिसमा समिति लागिपरिरहेको छ,’ उनी भन्छन् । यस क्षेत्रलाई रामपुर नगरपालिकाले पनि १० उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरेको छ । – सुशीला रेग्मी ,रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार