दलाल संसदीय गणतन्त्रबिरुद्ध संघर्ष आवस्यक – डायमण्ड म्याग्देली

२०७६ जेष्ठ १६ गते, बिहीबार

२०६२/२०६३ को जनआन्दोलन सुरु हुदै गर्दा तत्कालिन एमालेका नेता तथा अहिले नेपालका प्रम केपी ओली कै शव्द सापटी लिएर भन्नुपर्दा आज वयलगाडा चढेर अमेरिका पुगेको दिन अर्थात १२अौं गणतन्त्र दिवस । संयोगले अहिले केपी ओली नै देशको प्रम हुनुहुन्छ र उहांकै नेतृत्त्वको वर्तमान सरकारले जनताले आफ्नो गास काटेर तिरेको करवाट जम्मा भएको राज्यको ढुकुटीको करोडौं खर्च गरेर निकै ठुलो तामझाम सहित टुडिंखेलमा गणतन्त्र दिवस मनाएको छ । तर आम गरिव.शोषित.पिडित नागरिकलाई यो राष्ट्रिय पर्व/गणतन्त्र दिवसले पटक्कै छुन सकेको छैन । गरिव नि:मुखा जनताको लागी यो दिवस “कागलाई वेल पाक्यो हर्ष न विस्मात” भनेजस्तै भएको छ । हुन त यस्ता विभिन्न खाले दिवसहरु गणतन्त्र स्थापना हुनु अघि पनि मनाईने गर्थे. जस्तै प्रजातन्त्र दिवस .राजा/महाराजाहरुको जन्मको अवसर पारेर त्यस दिनलाई राष्ट्रिय दिवस तथा उत्सवको रुपमा मनाईन्थ्यो । तर आम नागरिकलाई त्यस्ता उत्सवहरुले खासै छुन्थेन। यद्यपी अहिले देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको छ ।
माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्द र त्यसैको जगमा भएको २०६२/२०६३ को जनआन्दोलन पछी जसरी दुईसय ४० वर्ष पुरानो राजतन्त्र को अन्त्य भयो । त्यो मोर्चामा आम नागरिकको जुन सक्रिय सहभागिता रह्यो त्यस अर्थमा यो दिवश अलिक भिन्न हुनुपर्ने हो । . आम नागरिकले महशुस गर्ने खालको हुनुपर्ने हो । तर त्यसो हुन सकेन.जनयुद्द र जन आन्दोलनमा सहभागी हुने आम नागरिक.योद्दाहरु.वलिदान दिने हजारौ हजार शहिदहरु.वेपत्ता वनाईएका हजारौ योद्दाहरु.हजारौ घाईते/अपांग योद्दाहरु र आ-आफ्नो स्थानवाट सहयोग गर्ने आम जनसमुदायको सपना र अपेक्षा हिजोभन्दा अलि भिन्न र वढी हुनु अस्वभाविक पटक्कै हैन तर हिजो र आजको शासकको चरित्र र शासन प्रणालिमा जनताले खासै भिन्न महशुस गर्ने अवस्था वन्न सकेको छैन।
त्यसो त झट्ट हेर्दा २४० वर्ष पुरानो निरंकुश एकात्मक सामन्ती राजतन्त्र को अन्त्य भई सघिंय गणतन्त्र पनि स्थापना भएको छ । नयाँ सविंधान पनि घोषणा भएको छ। त्यहि अनुसार देश संघियतामा गएको.हिजो नारायणहिटी राजदरवार र सिंह दरवारमा केन्द्रित शक्ति र अधिकार जनताको घर/आगनमा पुगेको भ्रम छरिदै छ। त्यही देखाएर जनतालाई जनयुद्द र जनआन्दोलनको आधारभुत उदेश्य पुरा भयो । राजनितिक क्रान्ति सम्पन्न भयो । अव विकाश र समृद्दीको मुल फुटाउनुपर्छ। आर्थिक क्रान्तिमा लाग्नुपर्छ भन्ने मिठो सपना देखाईएको छ । तर आम नागरिकको मन मस्तिष्कमा अनेकौ अनुत्तरित प्रश्नहरु उव्जिरहेका छन।
यदी साच्चै आम नागरिकको लागी गणतन्त्र आएको हो भने महामहिम राष्ट्रपतिको जिवनशैली र हाउभाउ किन राजा/महाराजा हरुको भन्दा भिन्न हुन सकेन ? महामहिमको कतै सवारी हुदां आम सर्वसाधारण नागरिकले किन अनावस्यक तनाव र सास्ती खेप्नु परेको छ ? महामहिमले राज्यको सम्पत्ति स्वाहा पार्दै मठमन्दिर/ देवी.देवता को दर्शन.पुजा/आजा गरेर देशले के पाउँछ ? जनताले के पाउँछन के गरिव जनता को भोक मेटिन्छ ? जनताले एक पेट खान पाएका छैनन ।महामहिमको लागी डेढ अर्वको हेलिकप्टर.१८ करोडको गाडी. सुविधा सम्पन्न शितलनिवास दरवार. विलासीपुर्ण जिवनशैली र भद्दा हाउभाउ लाई गणतन्त्रको कुन कोटीको उपलव्धी मान्ने ? गणतन्त्र स्थापनाको १२ वर्ष पुग्दा झण्डै १ दर्जन पात्रको तस्विर प्रम को रुपमा सिंहदरवार मा झुण्ड्याउनु लाई अर्को विशेष उपलव्धी मान्ने कि ?
गणतन्त्र स्थापना पछीको १ दशकमा मात्रै भारतले हाम्रो देशको दर्जनौ स्थानमा सिमा मिचेको छ.दर्जनौ जंगे पिलर गायव पारेको छ.हजारौ हेक्टर जमिन कव्जा गरेको छ.सिमानामा वस्ने हाम्रो नागरिकले दिनहुजसो भारतिय सुरक्षाकर्मीको दादागिरी.ज्यादती र कुटपिट सहनुपरेको छ । भारतले निर्माण गरेको वाधँ र टटवन्धका कारण वर्षेनी तराईवासीले दुवान र जनधनको क्षति व्यहोर्नु परिरहेको छ । तर यो गणतन्त्र ले त्यो किन देख्दैन ? आफ्नो भुमिको रक्षा गर्न किन सक्दैन ?आफ्नो नागरिकको संरक्षण र सुरक्षा गर्न किन सक्दैन ?
जनताको झुपडीमा वसेर.तिनैको आधा भाग खाएर जनता को साथ सहयोगमा राजनितिक आन्दोलनमा सहभागी नेताहरु एक डेढ दशकको विचमा आलिसान महल.सुविधायुक्त विलासी गाडी. अरवौ बैंक व्यालेन्स. चल/अचल सम्पत्ति सहित सम्भ्रान्त जिवनशैली विताईरहदा गणतन्त्र ल्याउन साथ दिने जनताले एक पेट खाना.एकसरो नाना र एक ओट छाना किन पाउन सकेनन ? नेताहरु सामान्य विरामी पर्दा थाईलैण्ड. सिंगापुर.अमेरिका जाने हैसियत वन्यो तर गरिव जनताले सिटामल र जिवनजल सम्म पनि सजिलै पाउने अवस्था किन वनेन ?
गणतन्त्र स्थापना गर्नुको उदेश्य सामन्तवाद को अन्त्य गर्नु थियो । तर त्यस्को सत्तामा हजारौं नवसामन्तहरु.राजा/रजौटाहरु जन्माउनु थिएन । गणतन्त्र प्राप्तीको लागी गरिएको संघर्षको उदेश्य जनयुद्द.गणतन्त्र र अग्रगामी राजनितिक परिवर्तनका कट्टर विरोधीहरु लाई सत्तामा विराजमान वनाउन र ताला/चावी हस्तान्तरण गर्नको लागी थिएन.न त तिनैलाई राजा/महाराजा हरुलाई जस्तै अधिकार प्रदान गर्दै मान/सम्मान गर्न र जनतालाई फेरी रैटी वनाउनको थियो । तर गणतन्त्रको यो अवधीसम्मको अभ्यास र गणतान्त्रिक शासकहरुको दृष्टिकोण.व्यवहार र चरित्रले पुरानो व्यवस्था र शासकहरुलाई समेट चकित पार्ने गरी प्रस्तुत भैरहेको दृश्य आम नागरिकले देखि/भोगी रहेका छन । यस्तो परिदृश्य को विचवाट ति पात्रहरुले देश र जनताको हितअनुकुल काम गर्छन भन्ने कुरा को कल्पना गर्नु नै अर्थहिन छ । वरु आफ्नो सेवा/सुविधा र अधिकारको दायरा लाई फराकिलो पार्दै जनताको अधिकार र स्वतन्त्रता लाई खुम्च्याउँदै छन् ।
राजा/महाराजाहरुको जस्तै भड्किलो र खर्चिलो जिवनशैली.हाउभाउ.तडक भडक सहित गणतन्त्रको भरपुर उपयोग गर्दैछन। गणतन्त्रको उदेश्य केहि नेताहरुलाई सत्ता र शक्तिमा पुर्याउन र व्यवस्थापन गर्नको लागी थिएन। तिनका छोरी, वुहारी,ज्वाई,भाई, भतिज, साला ,सालीलगायत आफन्त.नातागोता आफ्ना भजनमण्डली समुहका मान्छेहरुलाई सांसद।मन्त्री.मेयर जस्ता जिम्मेवारी मा नियुक्त गर्नु तथा विभिन्न निकायमा/ लाभका पदहरुमा भर्ति गर्न को लागी पनि कदापी थिएन। तर यो १२ वर्षको गणतन्त्रको अभ्यासले प्रस्त रुपमा त्यस्तै देखाईरहेको छ।

गणतन्त्र स्थापना. संविधान निर्माण त्यहि सविंधान अनुसार सम्पन्न नयां निर्वाचन पछी यतिवेला केपी ओली नेतृत्त्वमा २/३ को उनीहरुकै भाषामा शक्तिशाली र स्थिर सरकार छ । तर अझै आफुलाई कम्युनिष्ट/वामपंथी भन्न रुचाउनेहरुको नेतृत्वमा वनेको सरकारले जनताका अति न्युनतम समस्याहरु पनि सम्वोधन गर्न सकेको छैन। जनतालाई राहत दिने कुरा त परै जाओस उल्टो ठाउँ-ठाँउमा चर्को कर असुलेर ढाड सेकिरहेको छ । दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ। हरेक क्षेत्रमा कालोवजारिया/विचौलिया हरुको विगविगी छ । भ्रष्टाचार.कमिसन.अनियमितता त्यति नै मौलाएको छ। तर त्यतातिर सरकारको ध्यान पुग्दैन । वलात्कारी. हत्यारालाई कारवाही गर्नुको सत्ता पुरै शक्ति लगाएर संरक्षण गर्नतिर लाग्छ । पछिल्लो समय निर्मला पन्त को वलात्कार र हत्या प्रकरण पछी विकसित घतनाक्रम ले त्यसैको पुष्टी गरेको छ। .२/३ को वलियो सरकारले वलात्कारी हत्यारा लाई कारवाही गर्न सक्दैन ।

विचौलिया. कालोवजारी नियन्त्रण गर्न सक्दैन। महाभ्रष्ट लोकमानसिंह कार्की. चुडामणी शर्मा, गोपाल खड्काहरुलाई कठघरामा उभ्याउन सक्दैन । वाईड वडी खरिदमा भएको ६ अर्व ३५ करोड भष्टाचारको सत्य तथ्य सार्वजनिक गर्न सक्दैन ४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी गर्ने मुख्य नाईके लाई पक्रन सक्दैन.नेपाली सेना भित्र भएको भनिएको ठुलो भ्रष्टाचारवारे चुँ सम्म वोल्न सक्दैन.झण्डै ३ दशकदेखी मेलम्ची आयोजनालाई दुुहुनो गाई वनाएर चुस्ने भ्रष्ट/विचौलिया हरुलाई ठेगान लगाएर मेलम्चीको पानी ल्याउन सक्दैन । एनसेल ले राज्यलाई तिर्नुपर्ने ७२ अर्व लाभकर असुल्न सक्दैन। वालुवाटार.खुल्ला मञ्च लगायत सरकारी जग्गा हडप्नेहरुलाई कारवाही गर्न सक्दैन भने यो गणतन्त्र वाट अरु के आशा गर्ने?यो निकम्मा .नालायक सरकार र सिंगो व्यवस्था को विकल्प किन नखोज्ने ?
अन्तमा, माथी उल्लेखित कारण हरुले यो गणतन्त्र असफल भैसकेको छ । यसका पहरेदार नेता तिनका आसेपासे सिमित कार्यकर्ता. भ्रष्ट. दलाल. तस्कर. माफिया. विचौलियाहरुको लागी यो उपयुक्त व्यवस्था हुन सक्छ। तर देशको रक्षा. विकाश. समृद्दी. आम नागरिकको सवैखाले हक. अधिकारको सुनिश्चितता र सरंक्षणको लागी यस्को विकल्प खोज्ने कुरामा कुनै दुविधा राख्नु हुदैन.आज सम्म जे-जति परिवर्तनहरु आए ति वयलगाडा चढेर आएका पक्कै हैनन । आम नागरिकको उच्च वलिदान.त्याग र योगदानवाट नै सम्भव भएको हो। त्यसैले सिमित पुराना तथा नयां शामन्त. पुजिंपती, दलाल, भ्रष्ट, माफिया, विचौलियाहरु जन्माउने र तिनैको संरक्षण गर्ने यो दलाल संसदिय गणतन्त्रको भ्रममा नपरौ । जनताको गणतन्त्र र समाजवाद निर्माण गर्ने वाटोमा दृढतापुर्वक अघि वढ्ने संकल्प गरौं ।जनताको संघर्षले हारेको ईतिहास कतै छैन। जनताको पक्षमा गरिने न्यायिक क्रान्तिको जित सुनिश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु