दलालहरुको सामराज्य-प्रतिरोध

२०७६ भाद्र १७ गते, मंगलवार

एक टुक्रा हड्डीका निम्ति
लछारपछार गरिरहेका कुकुरहरु झै
यहाँ दलालका झुन्डहरु
अक्सर हानथाप गरिरहन्छन्
प्रभुको पाउ समाउदै
जयजयकार गरिरहन्छन
सत्ता र शक्तिका निम्ति !

बिगतमा
एउटा दलालले कोशी बेच्यो
स्वाधीनताका योद्धाहरुको हत्या गर्यो
उसकै फोटोले आज सिंहदरबारको
ठुलो हिस्सा अोगटेको छ
अर्को दलालले गण्डक बेच्यो
यहाँ आज उसकै जयजयकार गरिन्छ
महामानवको पगरी भिराइन्छ
उसकै फोटोले आज सिंहदरबारको
ठुलो हिस्सा अोगटेको छ
अर्कोले मुक्तिको सपना देखाउदै
जनताको रगत बेच्यो
अनि ठुलो महल ठड्याअो
यस्तै अनगिन्ती रङ्गी बिरङगी
अनेकौं आवरणमा लुकेका
साना ठुला र चुच्चे थेप्चे दलालहरुले
अाफ्नो आधिपत्य कायम गरे
कसैले चेलिबेटी बेचे
कसैले युवाहरूको पसिना बेचे
कसैले टनकपुर बेचे
कसैले महाकाली बेचे
कसैले नागरिकता बेचे
कसैले कर्णाली बेचे
कसैले लिप्पुलेख बेचे
जे जे सकिन्छ सबथोक बेचे।

अचेल
एउटा झुन्डको नाइके
एक प्याला बिदेशी नशाको भरमा
कथित समृद्धि को फलाको गर्दै हिडिरहेको छ
अर्को झुन्डको नाइके
देशको लिलामी गरेर
लन्डनमा घर ठडयाउने सपना देख्दै छ
रातो छिरबेर नटवरलाल
बालुवाटार र टुडिखेलको कित्ता काट गर्दै छ
मानौं यसरी कि बालुवाटार उसको बिर्ता हो।

यिनी दलालहरु
लुटको स्वर्गको रक्षाका निम्ति
जहिल्यै जनता माथि दमन गर्छन्
क्रान्तिकारीको बीभत्स हत्या गर्छन्
मुक्तिको सपनालाई प्रतिबन्ध लगाउछन
दलालहरुको यो भ्रष्ट सत्ताका बिरुद्ध
तिमि लडछौं या आत्मसमर्पण गर्छौं
समयले हामीलाई प्रश्न गरेको छ !

प्रतिक्रियाहरु