दर्जनौ विद्यालयका बैंक खाता रोक्का

२०७१ पुष ४ गते, शुक्रबार

काठमाडौ । महोत्तरीको ४० वटा विद्यालयका बैंक खाता रोक्का गरिएको छ ।सेभ द चिल्ड्रेनको सहयोगमा आसमान नेपालले साढे दुई वर्षअघि सुरु गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत आधारभूत शिक्षामा सुधार परियोजना सम्पन्न भइसक्दासमेत खाता रोक्का गरिएकामा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु आक्रोशित भएका छन् ।
जिल्ला शिक्षा कार्यालयको समन्वयमा सुरु भएको कार्यक्रमअन्तर्गत दुईकोठे कक्षाकोठा र फर्निचर तथा पुस्तकालय व्यवस्थापन, नक्साङ्कन, क्षमता अभिवृद्धिसहितका काम सम्पन्न गरिएको आसमानले दाबी गरेको छ ।
दातृ संस्था र शिक्षा कार्यालयबीच तालमेल राम्रो नहुँदा निकै सास्ती भोग्नुपरेको र भवन निर्माणको काम गर्दा शिक्षा कार्यालयका प्राविधिकले निकै तनाव दिने गरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।
यता जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले आसमानले छनोट गरेको ४० वटा विद्यालय र अन्य विद्यालयमा खासै फरक नपाएको बताए । त्यस्तो कुनै नमुना विद्यालय छ भने देखाउन चुनौती दिँदै उनले गैरसरकारी संस्थाले सहयोग गरेका सामग्रीको उचित व्यवस्थापन, भवन निर्माणको अन्तिम प्रतिवेदनलगायतका कागजातको मूल्याङ्कन नहुन्जेल खाता रोक्का रहने बताए ।

प्रतिक्रियाहरु