दरौँदी ए जलविद्युतको परीक्षण उत्पादन सुरु

२०७३ कार्तिक १ गते, सोमबार

काठमाडौ, १ कात्तिक । गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ । असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले रु एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको हो । आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री सुरु गरिने आयोजना निर्माण कम्पनीका प्रबन्धक विष्णु पन्तले बताए । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ । चनौटेदेखि गोरखा सदरमुकामको हरमटारीस्थित विद्युत् सवस्टेसनसम्म प्रसारण लाइन ल्याइएको छ । आयोजनाको विद्युत् १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणले निःशुल्क रुपमा प्रयोग गरेपछि व्यावसायिक रुपमा आयोजनाको विद्युत् उत्पादन गरिने बताइएको छ । गत असारमा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको भए पनि भूकम्प, नाकाबन्दी जस्ता समस्याले गर्दा तोकिएको समयभन्दा केही ढिलो विद्युत् उत्पादन भएको हो ।
आयोजनाको विद्युत् गोरखास्थित सवस्टेसनमा जडान गरेपछि गोरखामा विद्युत् भार कटौती नहुने बताइएको छ । तीन केभीए क्षमताको सवस्टेसनलाई क्षमता बढाएर आठ केभीए क्षमताको बनाउने काम भइरहेको छ । दरौँदी ए आयोजना निर्माण सकिएपछि दरौँदीमै १० मेगावाट क्षमताको अर्को आयोजना निर्माण गरिने पन्तले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार