दम्भ र घमण्डको राजनीति

२०७४ फाल्गुन २७ गते, आईतवार

यतिबेला नेकपा एमाले र माओवादी केन्द्र निर्वाचनमा बहुमत ल्याएको दम्भ देखाउँदै सरकार गठनमा व्यस्त छन् । उनीहरु देश र जनताको समस्या समाधान गर्नभन्दा पनि कसरी आफ्नो पार्टीलाई सरकारमा दर्बिलो बनाउने र सत्ता हत्याउने भन्ने विषयमा तल्लिन भएको सबैसामु छर्लङ्ग छ । यी दुई दल मिलेर देश र जनतालाई बन्धक बनाउने दिशातिर उद्यत भएको प्रस्ट देखिन्छ । यी दुई दलको भागवण्डाको राजनीतिले देश थप संकटग्रस्त हुने प्रस्ट संकेतहरु देखिइसकेका छन्
देशको वर्तमान संकट हेर्दा कुनै एकदुई दलले मात्र सरकार गठन गरेर समाधान हुन नसक्ने प्रष्ट देखिइसकेको छ । किनकि यी दलहरुले आफ्नो स्वार्थका लागि गरेको निर्वाचन आमजनता र क्रान्तिकारी पार्टीहरुले पहिले नै अस्वीकार गरिसकेका छन् । यस्तो अवस्थामा दुई तिहाईको सरकार बनाउँछु र देश र जनतालाई निकास दिन्छु भन्नु दिवास्वप्ना मात्र हुन जाछ । किनकि यी दलहरुको कार्यशैली हेर्दा देश र जनतालाई मुक्ति दिने होइन कि दुई तिहाईको बलले अझै निरङ्कुशता लाद्न खोज्ने देखिन्छ । दुई तिहाई जनमतको नाममा देशमा अझै भ्रष्टाचार, महँगी, अन्याचार बढाउने र शान्तिसुरक्षा भद्रगोल पार्ने कार्य हुने संकेत अहिले नै देखापरिसकेको छ । जसले देशलाई पुनः द्वन्द्वतिर धकेल्ने शतप्रतिशत सम्भावना देखिएको छ । तसर्थ, देश, जनताको हितका निम्ति ५० प्रतिशत जनताले भाग नलिएको निर्वाचनलाई आधार मानेर अगाडि बढ्नु घातक हुन्छ । त्यसैले देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन र परिवर्तन र अग्रगमनतर्फ लैजान देशमा भएका सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । अन्यथा देश पुनः द्वन्द्वतिर धकेलिने निश्चित देखिएको छ । यसतर्फ सत्तासीन दल सचेत हुनैपर्छ, अन्यथा स्थिति विकराल बन्ने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरु