थाहा महोत्सव भदौ २६ देखि

२०७१ भाद्र ४ गते, बुधबार


काठमाडौ । मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिले आयोजना गर्न लागेको कृषि, पर्यटन व्यापार मेला, ‘थाहा महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ २६ देखि असोज ४ सम्म इन्द्रायणी चउरमा हुने महोत्सवका लागि अहिले स्टल बुकिङ र थाहा आइडलको दर्ता चलिरहेको छ । कुल १ सय २५ वटा स्टल रहने महोत्सवमा ६० भन्दा बढी स्टल बुकिङ भइसकेको र केहीले फारम भर्ने काम गरिसकेको महोत्सवको सचिवालयले जनाएको छ । आइडलका लागि अहिलेसम्म २५ जनाले नाम दर्ता गरिसकेको छ । महोत्सवमा अल्पाइन डेभलपमेन्ट बैंकले अफिसियल मिडिया हुने पक्का भएको महासचिव सुरेन्द्रमान प्रधानले बताए । प्रधानका अनुसार महोत्सवमा करिब ४ करोड रुपियाँको आर्थिक कारोबारको लक्ष्य लिइएको छ । पहिलो पटक आयोजना गरिएको महोत्सवले उत्तरी मकवानपुरको आर्थिक क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा दैनिक रुपमा कृषि सामग्रीहरुको विक्री तथा प्रदर्शनी गरिनेछ भने, पशुपालनतर्फ बाख्राको आधुनिक खोर प्रदर्शन, परामर्श समेत दिइनेछ । महोत्सवमा उत्तरी मकवानपुरका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार समेत गरिनेछ । करिब २ लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा आलु तथा माछाका परिकारहरुका स्टलहरुले आकर्षण गर्ने अपेक्षा लिएको छ । दैनिक राष्ट्रिय कलाकारहरुको साँगीतिक कार्यक्रम गर्नका लागि कलाकारहरुको छनौट भइरहेको समेत सचिवालयले जनाएको छ । १० दिनसम्म चल्ने महोत्सवका लागि आवश्यक स्टलहरुको निर्माण कार्य भने भदौ १०—११ गतेबाट हुने जनाएको छ । महोत्सवका लागि आवश्यक प्रचारप्रसारको कार्य समेत व्यापक बनाइएको छ । महोत्सवमा उत्तरी मकवानपुरका अलावा राजधानी काठमाडौं र हेटौंडाबाट समेत अवलोकनकर्ताहरुको सहभागिता हुने अपेक्षा लिइएको छ ।
महोत्सवको अवसरमा विभिन्न साँस्कृतिक झाँकीहरुको प्रदर्शनी, नेवारी तथा तमाङ भेषभुषाहरुको प्रदर्शनी, गोपालीहरुको हाकुपटासी बुनाइको तानसहितको प्रदर्शनी, चित्लाङको बाख्राको चीज विक्री तथा प्रदर्शनी समेत गरिनेछ । महोत्सवमा मदिराको विक्री भने निषेध गरिने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार