त्रिविमा सेमेस्टर प्रणाली लागु हुने

२०७० माघ २८ गते, मंगलवार


काठमाडौं । विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालय पदाधिकारीबीच भएको छलफलपछि त्रिविले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ ।सेमेस्टर प्रणालीबाट पहिलो चरणमा केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा भर्ना प्रक्रिया अघि बढाउने सहमति छलफलमा भएको हो । त्रिवि उपकुलपति हीराबहादुर महर्जनले विद्यार्थी संगठनको सहमतिपछि आजदेखि केन्द्रीय विश्वविद्यालयमा भर्ना खुला गरिने जनाएका छन् ।सेमेस्टर प्रणाली लागू गर्दा शुल्क वृद्धि नगर्ने र चार वर्षका लागि ३३ हजार लिने, विद्यार्थीले अघि सारेका १२ बुँदे सम्झौता कार्यान्वयन गर्ने, विद्यार्थीको स्वास्थ्य बिमा बापत ५ सय लिने र सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने व्यवस्थालगायतका विषयमा विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच सम्झौता भएपछि सेमेस्टर प्रणाली सुरु हुन लागेको हो ।
यसअघि, त्रिवि पदाधिकारीले पाँच वर्षदेखि गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने सर्त १३ विद्यार्थी संगठनको अगाडि सारेका थिए । तर, प्रमुख तीन विद्यार्थी संगठनले सहमति जनाएपछि त्रिविले भर्ना र पढाइ प्रक्रिया अघि बढाउने भएको छ ।त्रिविले आह्वान गरेको छलफलमा १३ विद्यार्थी संगठन सहभागी थिए । सेमेस्टर प्रणाली लागू गर्नेबारे नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले सहमति जनाएका छन् । तर, नेकपा–माओवादीको अखिल क्रान्तिकारीलगायतका चार विद्यार्थी संगठनले भने विरोध जनाएका छन् ।

प्रतिक्रियाहरु