तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाईदै

२०७३ मंसिर १० गते, शुक्रबार

काठमाडौं, १० मंसिर । सन् २०१७ सम्ममा तेह्रथुमलाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउने अभियान तीव्ररुपमा अघि बढेको छ । जिल्लालाई धुँवामुक्त बनाउने अभियानअन्तर्गत हालसम्म ११ हजार ४ सय ५३ वटा धुँवारहित सुधारिएको चुल्हो निर्माण भएका छन् । जिल्लामा २२ हजार ९४ घरधुरी रहेका छन् । बाँकी घरमा पनि चाँडै सुधारिएको चुल्हो निर्माण गरिने सुधारिएको चुल्हो निर्माण कार्यक्रमका सुपरभाइजर सोमनाथ ढकालले जानकारी दिए ।
अभियानकै क्रममा दुई नगरपालिकासहित २१ गाविस रहेको तेह्रथुमका म्याङलुङ नगरपालिकामा पर्ने साविक साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ गाविस घरभित्रको धुँवारहित गाविस घोषणा भइसकेका छन् । जिल्लामा तीन वर्ष यता वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रअन्तर्गतको नाम्सालिङ विकास केन्द्रको सहयोगमा जिल्ला सेवा केन्द्रको रुपमा देउराली सोसाइटीले चुलो निर्माणका लागि सहजिकरण गर्दै आएको छ ।

प्रतिक्रियाहरु