तेल बोकेका ट्यांकरमा आक्रमण !

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, ३१ जेठ । ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थाममा दुई ट्यांकरमा विस्फोटक हमला भएको हो । आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ । इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाए । तर इरानका एक उच्च अधिकारीले घटनामा आफूहरुको संलग्नता र सम्बन्धसमेत नरहेको दाबी गरेको बीबीसीले जनाएको छ ।
जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो । घटना लगत्तै ट्यांकरमा रहेको सदस्यहरुको उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो ।
विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । यसअघि युएईका चार वटा ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो । तर त्यसलाई इरानले अस्वीकार गरेको थियो ।
बिहीबारको घटनापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ । – एजेन्सी

प्रतिक्रियाहरु