तुलसीको औषधीय गुण

२०७४ चैत्र २४ गते, शनिबार

काठमाडौं, २४ चैत । तुलसी बहुउपयोगी एवं औषधीय गुणले सम्पन्न बनस्पति हो । तुलसीको यही विशेषताको लागि हिन्दू धर्मावलम्बीहरूले घर आँगनमा मठ बनाएर रोप्ने र पूजा गर्ने गर्दछन् । आयुर्वेदमा पनि तुलसीको विशेष महत्वको बारेमा उल्लेख गरेको पाइन्छ । धार्मिक आस्थाको हिसाबले यसलाई हिन्दूहरूले भगवान बिष्णुको अवतार माने तापनि तुलसीलाई एउटा वनस्पतिको रूपमा मात्र लिने हो भने औषधीको रूपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या आदि हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ । नियमित रूपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ । तर त्यसका लागि सेवन गर्ने विधि भने थाहा हुनुपर्छ।बिहान खाली पेटमा तुलसीको चाररपाँच वटा पातलाई पिसेर दुई चम्चा पानीसँग सेवन गर्न सकिन्छ । उक्त पातलाई यत्तिकै चपाएर पनि सेवन गर्न सकिन्छ । सेवन विधि एवं फाइदाहरू–
१) तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ।
२) निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।
३) अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिच र सुख्खा अदुवाको सूठो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमालेपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्याबाट मुक्ति दिलाउँछ ।
४) तुलसीलाई दूधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वाससम्बन्धी समस्या छ भने दूध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दूध र तुलसी सेवन गर्दा फाइदा हुन्छ । टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दूधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दूध र तुलसी सेवन गर्नुपर्छ । यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ जसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दूधको मिश्रण एकदमै प्रभावकारी औषधी हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु