ती सबैकुरा सम्झेकि छु बाबा – अम्बिका भण्डारी

२०७४ मंसिर १७ गते, आईतवार

एकैठाऊमा बसेर खोल्नु छ बाबा ।
गहभरीका आँसु र मनभरीको गाँठो ।
फुकाऊ छ हजुर सगै बसेर कुनैदिन।
सम्झेकी छु बाबा ती दिन।
प्रत्येक दिन पसिना पुस्तै निस्कनु हुन्थ्यो ।
आसी नाम्लो बन्चरो बाऊसो कोदालो पनि त
हजुर सगै जान्थ्यो र तपाईं सगै
आऊथ्यो नि बाबा।
प्रत्येक साझ हजुर पसिना पुस्तै सुई सुई गर्दै
आऊनुहुन्थ्यो
कसरी भुलाैला र ती दिन।
तपाईंका आङभरी टालेका कपडा
अनि झोला भरी दिदिलाई दाजुलाई मलाई र भाईलाई
ल्याएका ती नयाँ कपडा पनि त सम्झन्छु
दिदिलाई पञ्चानब्बे जामा दाजुलाई निलो पाइन्ट र कोठे सट
मलाई छिर्केमिर्के जामा भाईलाई बाबा सेट
भुलेकि छैन ति कपडाको रङ र झोला समेत
ती सबैकुरा सम्झन्छु बाबा।
आमासँग हजुरले भनेका कुरा पनि त सम्झन्छु
देख्नु हुन्थयन आफ्नो शरिरमा फटेको कपडा
आमाको फाटेको चोली र फटेको फरिया
तर पनि भन्नू हुन्थ्यो हामी त टालेरै लगाऊला नी बुढी
यो साल यसै बित्यो भने
अर्को साल तलाई फरिया किनिदिन्छु
मलाई त यहि कपडाले जसोतसो चल्छ
भन्दै गरेका ती कुरा अहिले झन कानभरी गुन्जछन र आजभोलि झन धेरै सम्झेकी छु बाबा।
हामीलाई मीठो खुवाउन कै लागि
तालुका खाला र चरचरी चिरिएका पैताला
पनि त सम्झन्छु
जुनदिन हामीलाई मीठो खुवान कै लागि
चुहाएका पसिना अनि अन्तर मनबाट आएको सुस्केरा
म झन भुल्नै सक्दिन बाबा म भुल्नै सक्दिनँ ।
हो बाबा हो साच्चै हो भुलेकैई छैन झन
साहुसगँ काडेको रिनको ब्याज
प्रत्येक दिन तपाईका पसिनाले चुक्ता गरेको
त्यो रिन ती साहु र ती पसिना अनि ती काला अनुहारहरु।
त्यो समय र ती दिन ती सबैदुख भुलेर
हामीलाई हेरी हेरी हासेको त्यो हासो पनि त सम्झेकी छु
हामीलाई सुमसुम्याऊदै मेरा प्राण मेरा मुटु मेरा सम्पति
भन्दै मुस्कुराउनु हुन्थ्यो नि बाबा हामीलाई हेरेर
त्यो हासो पनि सम्झिरहन्छु बाबा
कति धेरै भबिश्यको खुशि देख्नु हुन्थ्यो हैई बाबा
हाम्रो अनुहारमा कसरी मुस्कुराउनु हुन्थ्यो हैई
बाबा हामीलाई हेरी हेरी।।

प्रतिक्रियाहरु