तीन विद्यार्थी, दुई शिक्षक !

२०७३ मंसिर २१ गते, मंगलवार

काठमाडौं, २१ मंसिर । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् । जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक्षा अनुसार विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् ।
त्यसैगरी, राम्चे गाविसकै चन्द्र प्रावि र भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योति प्राविको १ देखि ३ कक्षासम्म तीन जना विद्यार्थी रहेका छन् । यी तीनवटै विद्यालयमा दुईजना शिक्षकले तीनजना विद्यार्थीलाई पढाइरहेका छन् ।
तीनवटामा मात्रै होइन जिल्लामा ८० वटा प्रावि तहका विद्यालयमा दुई÷तीन जना शिक्षकका लागि २० भन्दा कम विद्यार्थी रहेका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताउनुभयो । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।
“सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्या चिन्ताको विषय बनेको छ । आउँदो शैक्षिक सत्रमा सकेसम्म गाभ्ने तयारीमा छौँ”, थापाले भने । सूचना अधिकृत समेत रहेका थापाका अनुसार जिल्लाभर रहेका विद्यालयमा प्राथमिक तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयताभन्दा पनि जन्मदर तथा बसाइँसराइ प्रमुख कारण हो ।
“धेरैजसो विद्यालयमा प्राथमिक तहमा बेन्च खाली र थोरै देखिन्छन् । देशभरको समस्या भएपनि राज्यको ठूलो लगानी खेर गइरहेको छ” जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु