तीन वर्षीया बालिका अजिंगरको ‘डाक्टर’ !

२०७५ चैत्र २९ गते, शुक्रबार

काठमाडौं , २९ चैत । अजिंगर, गोही देख्दा कसलाई डर लाग्दैन र ? आफ्नो छेउमा पुग्ने जनावर वा मानिसलाई यिनले क्षणभरमै आफ्नो आहारा बनाउन सक्छन् । कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई अजिंगर र गोहीको सामुन्ने कसरी छाड्न सक्छ ? तर, इन्डोनेसियामा एक परिवार यस्तो छ, जो आफ्नो तीन वर्षीया छोरीले अजिंगर र गोहीसँग खेलेको दृष्य निर्धक्कसँग पचाउँदै आएको छ । टाङ्गरङ्ग सिटी निवासी महारानी नाम गरेकी ती बालिका साढे चार मिटर लामो अजिंगरसँग मस्त खेलिरहेको भिडियो भाइरल भएको छ । अजिंगरका सामु उनी आफूलाई ‘डाक्टर’जस्तै ठान्छिन् । मुखमा घाउ भएको अजिंगरलाई काखमा तानेर औषधी लगाइदिन्छिन् । उनी आफ्नै घरमै रहेको गोहीको दाँत सफा गरिदिन्छिन् । उनका पिता घाइते जनावरहरुको हेरचाह गर्दै आएका छन् । ती बालिकाले आफ्नै पिताबाट ‘जनावर प्रेम’ सिकेको जनाइएको छ । खतरनाक सरिसृपसँग ती बालिकाको आत्मीयता बढेको एक वर्ष भइसकेको परिवारको भनाइ छ । ‘यस्ता खतरनाक सरिसृपसँग छोरीलाई खेल्न दिनु कत्तिको जोखिमपूर्ण छ ?’ भन्ने प्रश्नमा उनका पिता भन्छन्, ‘अरुले के सोचिरहेका होलान् भन्ने म बुझ्दछु ।’ कहिलेकाहीँ आफूलाई पनि डर लाग्ने गरेको उनले बताए । तर जनावरप्रति छोरीको व्यवहार र ‘कम्युनिकेसन’ देखेर आफूमा रहेको डर हराउने गरेको उनको भनाइ छ ।
सुरुमा त्यस्ता जनावर तथा सरिसृपको निकट पुग्दा आफूले छोरीलाई उनले के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर आफूले निर्देशन दिएको उनले बताए । ‘तर अब उनले धेरै कुरा बुझिसकेकी छन्,’ उनले भने, ‘कस्तो व्यवहार गर्नुपर्छ भन्ने उनलाई थाहा भइसकेको छ ।’ अब त छोरीले भनेका कुरा, उनका निर्देशनलाई जनावरले पालन गर्न थालेको उनी बताउँछन् । अजिंगरको मुख खेलाउनु सामान्य कुरा नभएको उनको भनाइ छ । ‘त्यसमा पनि मुखमा घाउ भएको अजिंगरले आफ्नो मुख छुन दिँदैन,’ उनले भने, ‘मेरी आमाले अजिंगरलाई छुँदा उहाँको हात नै बेस्सरी कसिदियो, तर महारानी (छोरी) ले छुँदा अजिंगर आरामले खेल्न थाल्छ ।’ -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु