तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक सूचना केन्द्र

२०७४ चैत्र ७ गते, बुधबार

काठमाडौँ, ७ चैत । तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा पहिलो पर्यटक सूचना केन्द्र संचालनमा ल्याएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । स्थानीय युवाहरुको पहलमा गठन भएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले नेपाल ग्रामीण पुननिर्माण संस्थाको आर्थिक सहयोगमा सूचना केन्द्र स्थापना गरेको हो । एउटै बनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रमा आउने पर्यटकलाई सूचना सम्प्रेषणका लागि सूचना केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष केदारनाथ लिम्बुले बताउनुभयो । यहाँ गुराँस फुल्दा पर्यटकको भीड लाग्छ ।
यस क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा ¥याफ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउनेको संख्या पनि उच्च छ । उनीहरुलाई यस क्षेत्रको महत्वबारे दर्शाउन पर्यटन सूचना केन्द्रसँगै संग्रहालय पनि स्थापना गरिएको छ । संग्रहालयमा यो क्षेत्रको ऐतिहासिक पहिचान, लोक संस्कृति तथा परम्परा झल्किने बस्तुहरु राखिएको छ ।

प्रतिक्रियाहरु