तीजमा दिनभर पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने

२०७४ भाद्र ७ गते, बुधबार

काठमाडौं, ७ भदौ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजमा पशुपतिनाथ दर्शन गर्नका लागि सबै तयारी पूरा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सुरक्षा व्यवस्थादेखि, स्वास्थ्य सेवासम्मका प्रबन्ध मिलाइएको कोषले जानकारी दिएको हो । बिहीबार बिहान ३ बजेदेखि राति ८ बजेसम्म पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । दर्शनार्थीहरुको सुरक्षाका लागि १५ ओटा सीसीटीभी जडान गरिएको छ ।
दर्शनार्थीहरु पंक्तिबद्ध भएको लाइनबाटसमेत प्रत्यक्ष अवलोकन गर्नसक्ने गरी व्यवस्था मिलाइने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । बिहान लाइन बसेका दर्शनार्थीले ४५ मिनेटदेखि १ घन्टामा दर्शन गर्न पाउने र त्यसपछि २ घन्टासम्म लाग्ने डा. ढकालले जानकारी दिए ।
सवारी–साधनको पार्किङका लागि पाँच स्थान तोकिएको छ । स्वास्थ्य शिविर दुई स्थानमा गरिनेछ । स्वास्थ्य उपकरण, आरक्षित बेड र एम्बुलेन्ससमेतको व्यवस्था हुने कोषले जनाएको छ । वृद्ध र अशक्तहरुलाई प्राथमिकताका साथ दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । भूकम्पका कारण क्षति पुगेका संरचना पुनःनिर्माण भइरहेकाले दर्शनार्थीलाई अघिल्ला वर्षभन्दा केही समस्या भने हुने देखिएको छ ।

प्रतिक्रियाहरु