तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

२०७५ कार्तिक २० गते, मंगलवार

काठमाडौँ, २० कात्तिक । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको भीड बढेको छ । तातोपानी कुण्डमा नुहाएमा विभिन्न रोगको उपचार हुने भएकाले मानिसको भीड बढेको हो । उपचारका लागि आएका बिरामी र उनीहरुको रेखदेखमा आएका आफन्तका कारण तातोपानीका होटल खचाखच भरिएका छन् । दसैं सकिएलगत्तै कुण्डमा बिरामीको भिड लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए । बिरे नुनको गन्धसहित निस्कने तातोपानीमा हप्ता दिनसम्म स्नान गरेपछि विभिन्न रोग निको हुने विश्वास रहँदै आएको छ । यहाँ स्नान गरेमा छाला रोग, ग्यास्ट्रिक, मर्केको, सुन्निएको र कलेजोसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फूर्ति बढ्ने बताइएको छ ।
बिरामीको चाप बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले बिरामीलाई पालो लगाएर स्नान गर्ने व्यवस्था मिलाएको छ । बिहानमा पुरुष र महिलाका लागि तीन समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको हो । महिलाका लागि बिहान दुई समूहलाई २-२ घण्टा र पुरुषलाई डेढ घण्टाका समय तोकिएको छ । त्यस्तै दिनमा पुरुषलाई १ घण्टा र महिलालाई डेढ घण्टाको समय मिलाइएको छ । चिसो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा बिरामीको भिड लाग्ने गर्छ ।

प्रतिक्रियाहरु