तातोपानी कुण्डमा भीड

२०७४ पुष ७ गते, शुक्रबार

काठमाडौं , ६ पुस । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न पुग्नेको भीड बढेको छ । जाडोयाममा बाथ, ग्याष्ट्रिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा मानिसहरु तातोापनी कुण्डमा डुबेर उपचार गर्न जाने गरेका हुन् । म्याग्दीका काली, म्याग्दी र रघुगंगाको किनारका धेरै ठाउँमा तातोपानीका कुण्ड छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् । सदरमुकाम बेनीबजारबाट ९ कि.मि.पश्चिममा बेनी नगरपालिका वडा नं.४ पर्ने सिंगा तातोपानीमा म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्ड देशकै प्रशिद्ध तातोपानीको कुण्ड हो । ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४ सय जनाले स्नान गर्न र डुबेर उपचार गर्न सक्छन् । यो कुण्डको तापक्रम पोखरीमा ४५ देखि ४८ डिग्री सेल्सियस र मूलमा ५४ देखि ५७ डिग्री सेल्सियस छ । यहाँ रोगको अवस्था हेरेर एक हप्तादेखि दुई हप्तासम्म नुहाउने गरिन्छ । यहाँ डुबेर उपचार गराउन देशैभरबाट विरामी पुग्ने गर्दछन् । पछिल्लो समय प्यारालाइसेस भएका विरामीसमेत तातोपानी कुण्डमा उपचारका लागि पुग्दछन् ।

प्रतिक्रियाहरु