तरुण बमको भयानक बिष्फोटनको खतरा – भीम उपाध्याय

२०७१ मंसिर ३ गते, बुधबार

राजनीति वा अन्य क्षेत्र जता भए पनि तरुणवर्ग कि त सृजनात्मक उर्जा हुन्छ, कि ध्वन्सात्मक बम हुन्छ । तिनलाई राज्यले कसरी प्रयोग गर्छ यो त्यसमा भरपर्छ । विकसित देशहरुले विज्ञान र प्रविधिको प्रचूर प्रयोग गरेर समृद्धि हासिल गरेका हुन । आम्दानी वृद्धि हुदै जादा गुणस्तरीय सेवासुविधाका माग पनि स्वतः बढ्दै गयो । मान्छेको आयु पनि बढदै गयो । माल्थसको जनसंख्याको सिद्धान्तको प्रतिपादन पश्चात मान्छे धेरै हुनु भनेको समस्या हो भन्ने धारणाले गत सतकभरि व्यापकता पायो । आर्थिक क्रियाकलापमा तिनले आफूलाई केन्द्रित गर्न पट्टि लागेर निश्चित आम्दानीले थोरै सदस्यको परिवारलाई पाल्नु पर्दा प्रतिव्यक्ति खर्च घटेर बचत बढ्दै गयो । उत्पादन क्षेत्रमा प्रविधिकरण हुनाले उत्पादन प्रणालीमा मानवश्रमको आवश्यकता घट्दै गयो । तर, सेवा क्षेत्रमा भने बढ्दो व्यक्तिगत आम्दानीले गर्दा मानवश्रमको माग बढ्न थाल्यो । समृद्धिले गर्दा मानिसहरुको सुखसुविधाका र सेवाको मागका प्रकारहरु बढ्दै गए । स्वास्थ्य विज्ञानको चमत्कारिक प्रगतिसंगसंगै औषत उमेर बढ्दै जाने, जन्म वा मृत्युदर घट्दै जाने भएबाट उत्पादनशील जनशक्तिको मागको परिमाणको आपूर्ति भने अपुग हुदै गएको अवस्था अहिले विकसित मुलुकहरुमा पाइन्छ । उर्जाशील जनशक्तिका अभावले विकसित मुलुकमा अहिले आर्थिक, सामाजिक, राजनीतिकजस्ता थप समस्याहरु देखा परेका छन् । अहिले तिनले मानव श्रम आयात गर्दैछन् । विगतमा विकसित देशले जनसंख्या बढी हुनलाई समस्या मान्थे भने अहिले त्यही जनसंख्या कम हुनु तिनलाई समस्या बनेकोे छ ।
यता अल्पविकसित मुलुकहरुमा भने जनसंख्या बढी हुनु समस्या मानिएको छ । जनसंख्याको बृद्धिले मान्छेको खाने मुखको संख्या बढेरमात्र समस्या आएको छैन, यसलाई राजनीतिले सही ढंगमा संवोधन गर्न नसक्नाले राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा सुव्यवस्थामा कायम गर्नमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । कूल जनसंख्याको परिमाणले भन्दा त्यहाको जनसंख्यामा तरुणवर्गको अनुपात के कति छ, त्यसले कुनै मुलुकको सामाजिक शान्तिमा प्रत्यक्ष राजनीतिक प्रभाव पारेको समाज विज्ञानले प्रमाणित गरेको छ । राजनीतिक उथलपुथल, राजनीतिक पार्टीहरुको विद्यमान जुझारुपना, विद्रोह, आन्दोलन, क्रान्तिको गुणस्तर र त्यसवाट यथास्थितिवादी विरुद्ध सृजना हुने सामाजिक खैलाबैलाहरु तरुणवर्गको जनसांख्यिक अनुृपात र नेतृत्वले सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।
तरुणहरु अनुभवी नभए पनि उर्जाशील हुन्छन्, सामाजिक वा व्यक्तिगत अन्याय सहन गर्दैनन् । तत्काल परिणामको अपेक्षा राख्छन्, परिणाममूखि हुन्छन् । तुलनात्मक रुपले अधैर्य तर, सृजनशील, साहसी हुन्छन् । समाज, राष्ट्रमा न्याय र समानताका लागि बलिदान गर्न तत्पर रहन्छन् । यसवाहेक आफू र आफ्ना परिवारको भरणपोषण, समाजिक सुव्यवस्था र सकारात्मक परिवर्तनका लागि संघर्ष पनि गर्नुपर्छ । जीवन निर्वाह र भविष्य सुरक्षित गर्नका लागि धनसम्पत्ति आर्जन गर्नुपर्ने जिम्मेवारी हुन्छ । आधुनिक विद्या र सामाजिक अध्ययनमा पनि पर्याप्त समय दिनुपर्छ । राज्य संचालकहरुलाई यी पक्षमा सचेष्ट गर्न आन्दोलनहरुमा पनि सरिक हुनुपर्छ । त्यसैले समाज परिवर्तनका वाहन भनेकै तरुण हुन् । तर, तरुणहरुलाई स्वार्थी राजनेताहरुले सत्तामा जाने भर्याङ मात्र बनाउदै लगेकाले सही नेतृत्वका अभावमा यो मुलुकमा युवाहरु दिग्भ्रमित हुदै गएका छन् । यिनको सामाजिक सुरक्षाका लागि शासकवर्गले कुनै अर्थपूर्ण कार्यक्रम र योजना वनाएनन् । फलस्वरुप यिनकै सहयोगमा राष्ट्रिय विद्रोह चरमचुलीमा पुगेर मुलुक भयंकर राजनीतिक परिवर्तनको संघारमा छ । सत्तामा रहे पनि यस तथ्यलाई स्वीकार गर्न नचाहने, नसक्ने, अज्ञानी, अशक्त स्वार्थीतत्वहरु घुसमुण्टो लगाएर बस्न लाज मानिरहेका छैनन ।
राजनीतिक खैलाबैला, विद्रोह र तरुण जनसंख्याको अनुपातको सम्वन्धलाई विगत र हालमा देखिएका विश्व राजनीतिक उथलपुथल एवं असंतुलनबाट पनि सहज बुझ्न सकिन्छ ।
कुनै पनि देशको जनसंख्यालाई ठीक आधा–आधा भागमा बाड्ने उमेरलाई त्यहाको मिडियन एज (मध्य उमेर) भनिन्छ । मिडिएन एजले आधा जनसंख्याको उमेर कति वर्षभन्दा बढी वा कम रहेछ भन्ने देखाउछ । जुन मुलुकको मिडिएन एज जति कम हुन्छ, त्यहाको जनसंख्यामा तरुणहरुको वाहुल्य त्यति बढी छ भन्ने बुझिन्छ । विकसित र शान्त देशहरुको अहिलेको मिडिएन एज अल्पविकसित र अशान्त देशहरु भन्दा निकै वढी हुनु स्वाभाविक छ । अर्को अर्थमा, विकसित देशमा युवाको परिमाण घट्दै गएको छ भने, अल्पविकसित देशमा बढ्दै गएको छ । तरुणहरुको परिमाण राजनीतिक उथलपुथलको सूचक पनि हो । विकसित देशहरुमा जब–जब राजनीतिक हलचल, खैलावैला भएका थिए, त्यसवेला निश्चित रुपमा तरुण जनसंख्यामा वाहुल्य भएकै हुन्थ्यो । तसर्थ तरुणको परिमाण घट्दै गएको समाजमा राजनीतिक, सामाजिक परिवर्तन र खैलाबैला पनि विस्तारै सुस्त एवं निस्क्रिय बन्दै जान्छ । पर्याप्त तरुणहरु भएको र तिनको उर्जालाई उपयोग गर्ने स्पष्ट नीति र कार्यक्रम संचालन भएको देश विकासको यात्रामा तीब्रतर अघि बढ्छ ।
मिडिएन एज र राजनीतिक सामाजिक शान्तिविच विश्वमा कस्तो सम्वन्ध हुने गरेको छ? शान्त देशहरुको मिडिएन एज अशान्त देशहरभन्दा निकै बढी छ । जापानको ४३ वर्ष, स्वीट्जरल्याण्डको ४० वर्ष, बेलायतको ३९ वर्ष, क्यानाडाको ३९ वर्ष, सिंगापुरको ३७ वर्ष, अमेरिकाको ३७ वर्ष, दक्षिण कोरियाको ३५ वर्ष मिडिएन एज रहेको छ । विकसित मुलुकहरु अहिले शान्त देखिनु ती समृद्ध भएरमात्र नभई मिडिएन एज बढी हुनुले हो । त्यति शान्त वा त्यति अशान्त पनि नभएका मुलुकहरुमा बंगलादेशको २२ वर्ष, मलेशियाको २४ वर्ष, भारतको २५ वर्ष, श्रीलंकाको ३० वर्ष, चीनको ३३ वर्ष मिडिएन एज छ । त्यस्तै, ज्यादैै अशान्त र राजनीतिक उथलपुथल हुदै गरेका मुलुकहरु अफगानिस्तानको साढे १७ वर्ष, सियरा लिओनको साढे १७ वर्ष, सुडानको साढे १८ वर्ष, सोमालियाको साढे १७ वर्ष, बुरुन्डीको साढे १६ वर्ष, इराकको साढे १९ वर्ष, भुटानको साढे २२ वर्ष, पाकिस्तानको २३ वर्ष, पूर्वी टिमोर साढे २० वर्ष, र नेपालको साढे २२ वर्ष मिडिएन एज छ ।
अफगानिस्तान, इराक, सियरा लिओन, सोमालिया, सुडानजस्ता मिडियन एज निकै थोरै भएका देशहरुमा विश्व महाशक्ति अमेरिका, बेलायत आदि देशको प्रत्यक्ष हस्तक्षेपले पनि सम्हाली नसक्ने गरी सत्ताधारीलाई आच्छुआच्छु परेको छ । तरुणहरुको वाहुल्यता भएको कालखण्डमा विदेशी महाशक्तिले कथित शान्ति कायम गर्न गरेको थिचोमिचोले पनि तिनलाई चित खानु परेको उदाहरणहरु विगतमा भियतनाम, कम्वोडिया, बर्मा, चीन, उत्तर कोरिया आदि हुन् । यसलाई नबुझ्दा नेपालमै पनि राजा ज्ञानेन्द्र असफल भए । त्यस्तै, मिडिएन एज बढ्दै गएको मुलुकहरुमा सामाजिक उथलपुथल पनि घट्दै गएका छन् । हिजो अशान्त देखिएका देशहरु या त तरुणहरुलाई संवोधन गर्ने राजनीतिक सुझबुझले वा मिडियन एज बढ्ने क्रममा हुनाले आज शान्त हुन पुगेका पाइन्छन । नेपाल, अफगानिस्तान, इराक, भुटान आदि देशहरुमा मिडिएन एज घट्ने क्रममा छ । तसर्थ इमान्दारीपूर्वक शान्ति खोज्ने शासकवर्गले शक्ति, सत्ता, विदेशी पैसाको दुरुपयोग वा हस्तक्षेपले हैन राजनीतिक सुझबुझबाट तरुणहरुलाई अर्थपूर्ण सामाजिक सुरक्षा दिएमात्र यी देशमा शान्ति, समृद्धि र सुख हासिल गर्न संभव हुने सत्यतालाई बुझ्न अति जरुरी छ ।
क्रान्तिको विश्लेषण गर्दै लेनिनले भनेका छन्, ‘अधिकतम जनता निस्पष्ट गरिवीमा वा तिनीउपर हुने राज्य र शोषकवर्गको दमनले मात्र कुनै देशमा क्रान्ति आउदैन, क्रान्ति तबसम्म संभव हुदैन जबसम्म यस्ता पीडित उपेक्षितवर्गको हितमा काम गर्ने राजनीतिक दलको सशक्त नेतृत्व विद्यमान हुदैन ।’ संभवतः यस्ताखाले राजनीतिक दलको नेतृत्वको उपस्थिति नहुनाले नेपालका आन्दोलनहरु सहमतिमा पुगी तुहिदै गएका हुन् ।
नेपालमा जुन दलले तरुणशक्तिको उर्जालाई उपयोग गर्न समर्थ हुन्छ, जुन दलमा युवाशक्तिको नेतृत्वको वाहुल्यता हुन्छ, जुन दलमा तरुणहरुको नेतृत्व–निर्माण र हस्तान्तरणको संस्थागतीकरण हुदै गएको हुन्छ, त्यही राजनीतिक दलको मात्र भविष्य उज्ज्वल हुने देखिन्छ । त्यही दलले मुलुकलाई समृद्ध, शान्त, सुखी बनाउन सक्नेछ । पुरानो, अनुभवी दल हुनु पर्याप्त हुदैन, ती त यथास्थितिवादी एवं सुस्त हुन्छन् नै । नेतृत्वमा परिवर्तनकामी साहसी युवाको उपस्थिति कस्तो छ, नीति–निर्माणमा तिनको जुझारुपन कत्तिको प्रभावी छ, त्यस दलले मात्र मुलुकलाई सही मार्गमा डोर्याउन सक्छ । तरुणहरुकोे जनसंख्या डेढ करोड पुगेको वर्तमान नेपालमा दलहरुलाई पुनर्जागरण गर्ने एकमात्र उपाय भनेको युवाहरुलाई अुनयायी र पिछलग्गु बनाएर नभई नेतृत्वमा जबरजस्त उपस्थिति गराएर मात्र संभव हुनेछ । परम्परागत ठूला दलहरुमा यो कार्य असंभवप्रायः प्रतीत हुन्छ । भेडाले नेतृत्व गरेको सय सिंहहरुको सेना भन्दा एक सिंहले नेतृत्व गरेको सय भेडाहरुको फौज बढी बलवान हुन्छ । सिंहको नेतृत्वमा लडाइमा भिडेको सिंहको फौजलाई त झन कसैले पछार्न सक्दैन ।
नेपालका दलहरुमा युवाहरुको जमात कम छैन । तर, तिनको भूमिका नेतृत्वदायी नभई निरीह एवं पिछलग्गुको छ । जुनवेला ती दलका नेतृत्व जुझारु युवाहरुको हातमा थियो, त्यसवेला ती पनि लडाका नै थिए । नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको विगुल फुक्दाताका नेतृत्वमा युवा यिनै अहिलेका बूढाहरु थिए । हतियारसहितको झापा विद्रोह गर्दा एमालेका वर्तमान नेताहरु नै त्यतिखेर युवावस्थामा थिए । आफ्नो युवावस्थाको नेतृत्व बलिदानी र न्यायप्रेमी भएकाले नै आज ती असफल सुस्त नेताहरुले सत्ता हात पारेका हुन् । बूढा र उर्जाहीन भएर हो, दुनिया बुझेर अनुभवी भएर अहिले ती शान्तिका पक्षधर देखिएका हैनन् ।
अन्य ठूला दलहरुमा विगतमा भएझै, सशस्त्र विद्रोही नेकपा माओदावीको सशक्त उदय हुनु नेतृत्वमा तरुणहरुको वाहुल्यताले गर्दा नै हो । इतिहासको त्यो कालखण्डमा यो दलको जन्म भयो, जुनबेला मुलुकको मिडिएन एज घटेको छ, २५ वर्ष मुनिका जनसंख्याको परिमाण ६० प्रतिशत पुग्यो, बेरोजगारी ४२ प्रतिशत भएर चरमचुलीमा छ । नेपालको उत्तरोत्तर घट्दै गएकोे मिडियन एजका तरुणउर्जा राजनीतिक सही नेतृत्वको अभावमा कुनबेला ध्वंसात्मक बम बनेर कहा कसरी कतिखेर पड्किन थाल्छन्, यस अवस्थामा मुलुकको राजनीतिले कुन बाटो समात्नेछ अनुमान गर्न सहज देखिदैन । बुद्धि नपुर्याए मुलुकले रगत छाद्न सक्छ, वर्तमान राजनीतिक दलहरुको नियन्त्रणको अन्त्य हुन सक्छ । तसर्थ, विदेशीको इशारामा मात्र हिड्ने बेला अहिले मुलुकको छैन । मुलुकको जनसाख्यिक संरचनाको चरित्रले भयंकर नतिजा निम्त्याउने परिस्थिति छ । आकंडाको बैज्ञानिक अध्ययन विश्लेषण गरी सही निष्कर्ष निकाल्ने विवेक हराउदै गएको दलहरुमा सद्बुद्धि पलाओस् । मेरोतेरो भन्ने मानसिकतावाट माथि उठेर बस्तुगत ढंगले मुलुकहितमा नेपाली जनताले वर्तमान मौकालाई उपयोग गरेनन् भने कुकुरले नपाउने अकल्पनीय दुःखका दिन आउने परिस्थिति झल्झल्ती देखिदैछ । राजनीतिक दायित्व र कर्तव्यलाई हिजोजस्तो हल्काफुल्का ढंगमा लिनु अब कदापि हुदैन ।
मुलुकका प्रमूख दलहरुका नेतृत्वमा तरुण उर्जा नै छैन । विगतमा सरकार संचालन कुहिएका प्रशासन यन्त्रमा टेकेर गरिएकाले शासन दुःखदायी रह्यो । भएको प्रशासनलाइ अझै निकम्मा र भ्रष्ट तुल्याउन यी अझै बल गर्दैछन् । नातावाद र भ्रष्ट्रिकरणमा इतिहासमै गन्हाउन पुगेका छन् । तसर्थ, पुराना दलहरुले समस्यालाई बुझेर पनि बुझ्पचाउदै आलटाल गर्नु स्वाभाविक छ । ती परिवर्तनवाट आतंकित पनि छन्, तिनलाई यथास्थिति नै प्रिय रहेको हो । परिवर्तन त तरुणहरुका निम्ति हो । यस्तै कांतर चरित्रले गर्दा मुलुकको समस्याहरु थाति रहदै चृुलिएका हुन् । समस्त संरचनामा क्रान्तिकारी परिवर्तनको माग भइरहेको समयमा राजनीतिको नेतृत्व पनि परिवर्तनकारी तरुणहरुको हातमा जानु आवश्यक हुन्छ । तरुण उर्जालाई संवोधन गर्न नसकिरहेका परम्परावादी दलहरुमा यो संभव पनि देखिदैन । नेतृत्व लिन पाउने वा सक्ने राजनीतिक क्रान्तिकारी दलमा समाहित भएर वा नया दल निर्माण गरेर भएपनि आफ्नो उर्जा, योग्यता र क्षमताको उपयोग गर्न पाउने अवसर तरुणहरु स्वंयले सृजना गर्न सक्नु पर्छ । तरुणहरु उर्जा बनेर अगाडी बढ्नु पर्छ । अगाडि बढ्न व्यवधान गर्ने तगाराहरुलाई तरुण बम बनेर भएपनि ध्वस्त पार्नुपर्छ । नेपालको वर्तमान मुलुकको इतिहासमै तरुणको अभूतपूर्व वाहुल्यको हो । मक्किएका, भ्रष्ट र नातापोषक सोचका बूढा वा तिनका पिछलग्गु कथित युवानेताहरुको हातमा तरुणको भविष्य सुरक्षित हुदैन, छैन । नेपाललाइ माया गर्ने विद्वत वर्ग र सच्चा नेताहरुले मुलुकको यो जनसाख्यिक बस्तुस्थितिलाइ विशेष मनन गरेर पाइला चालेनन् भने इतिहासले आफ्नो बाटो लिएर छाड्छ । हामी जनता अझै नीरिह र पीडित हुनबाट कसैले रोक्ने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु