ढोरपाटन शिकारवाट एक करोड ८५ लाख राजश्व सङ्कलन

२०७५ मंसिर ११ गते, मंगलवार

काठमाडौं , ११ मंसिर । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार खेल्न सिकार कम्पनीले एउटा नाउरको रु १२ लाख पाँच हजार तथा एउटा झारलको रु नौ लाख २० हजार राजश्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाएका थिए । विभागले गरेको बोलपत्र प्रक्रियाबाट चार कम्पनीले सिकारी पठाउने जिम्मा पाएअनुसार कम्पनीले विभागसँग सम्झौता गरी १० सिकारीलाई सिकारका लागि आरक्षमा पठाएको थियो । “हरेक वर्ष विभागले बोलपत्र प्रक्रियामार्फत सिकार कम्पनी छनोट गरी सिकार गराउने गर्दछ”, सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी विष्णु रोकायले भन्नुभयो, “अहिलेको याममा प्रतिनाउर सिकार गरेको रु दुई लाखदेखि रु १२ लाख पाँच हजार तथा प्रतिझारल रु एक लाखदेखि रु नौ लाख २० हजार बोलपत्र स्वीकृत भएको थियो ।” विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको सो आरक्षमा सिकार गर्न अमेरिका, रुस, स्पेनलगायतका मुलुकका सिकारी आउने गरेका छन् ।
यस याममा ‘हिमालयन सफारी’ले सम्झौताअनुरुप चार नाउर र एक झारलको सिकार गरेको छ । यस्तै ट्रयाक एण्ड टुर्स कम्पनीले दुई नाउर र दुई झारल, ग्लोबल सफारीले तीन नाउर र एक झारल तथा वाइल्ड लाइफ सफारीले एक नाउर र दुई झारलको सिकार गरेको रोकायाले जानकारी दिनुभयो । हरेक वर्ष असोजदेखि मङ्सिर पहिलो हप्तासम्म आरक्षमा पहिलो यामको सिकार गरिन्छ । चालु आर्थिक वर्षको पहिलो याममा रु एक करोड ८५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले २०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि ढोरपाटनमा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको हो । पन्ध्र दिनका लागि अनुमतिसहित सिकार गर्न आउने पर्यटकले आरक्षका कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर र भाले झारलको मात्र सिकार गर्न पाउने नियम छ । – रासस

प्रतिक्रियाहरु