ढिकीजाँतो संरक्षणमा आमा समूह

२०७३ भाद्र १० गते, शुक्रबार

काठमाडौ , 10 भदौ । पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित शुभकामना आमा समूह आधुनिकतासँगै लोप हुन लागेको प्राचीन कुटानी तथा पिसानीको महत्वपूर्ण साधनका रूपमा परिचित ढिकी र जाँतो संरक्षणमा जुटेको छ  । आमा समूहले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रमुख प्रवेशद्वार रातोपैह्रास्थित सार्वजनिक जग्गामा ट्रस्ट भवन निर्माण गरेर लोपोन्मुख ढिकी र जाँतो स्थापना गरेको हो ।
ढिकीमा रातभरि धान कुट्ने र जाँतोमा मकै, कोदो पिस्ने गरे पनि पछिल्लो समय आधुनिक मेसिनका कारण लोप हुन लागेको ढिकी र जाँतोको बारेमा भावी पुस्तालाई जानकारी गराउने उद्देश्यसाथ ढिकी जाँतो स्थापना गरिएको आमा समूहकी अध्यक्ष माया गुरुङले बताइन  । उनका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएको ट्रस्ट घरभित्र काठको मुढो, ओखल, दुईवटा खम्बा, औलो, दाँते मुसल, लुडी भएको ढिकी एवम् ढुङ्गाको दुईवटा पलेटा, काठको मानी, फलामको मानी, हातोसहितको जाँतो निर्माण गरिएको छ ।
टोल छिमेकमा हुने शुभकार्यमा नाचगानजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आम्दानी भएको रु. दुई लाख खर्चेर सो भवन र ढिकी जाँतो स्थापना गरिएको अध्यक्ष गुरूङ बताउछिन  ।
समूहद्वारा यसअघि पार्क एवम् डिलबार निर्माण समितिद्वारा गाडिएका फलामका पोलमा रेलिङबार निर्माण गरी सेतीनदीको भिरमा सुरक्षित बारको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार