डेढ लाख पीडितसँग अनुदान सम्झौता

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, १० असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पका कारण अति प्रभावित ११ जिल्लाका करिब डेढ लाख पीडितसँग अनुदान रकम वितरणका लागि सम्झौता भएको जानकारी दिएको छ । प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौँ उपत्यकाबाहेकका ११ जिल्लाका एक लाख ४७ हजार १८८ जना भूकम्पपीडितसँग सम्झौता भएको हो । तीमध्ये पाँच हजार ८४१ जना घरधनीको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको प्राधिकरणले जनाएको छ ।
एघार जिल्लामध्ये रामेछाप र ओखलढुङ्गामा अनुदान सम्झौताको कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार रामेछापमा ३९ हजार ४०५ भूकम्पपीडित घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । सो जिल्लामा ४३ हजार ६०९ घरधनी अनुदान पाउने सूचीमा परेका छन् ।
त्यस्तै ओखलढुङ्गामा अनुदान पाउने सूचीमा परेका १९ हजार ८१९ घरधनीमध्ये १६ हजार ६२१ घरधनीसँग सम्झौता भइसकेको प्राधिकरणले बताएको छ ।
गोरखा र सिन्धुपाल्चोकमा पनि अनुदान पाउने सूचीमा परेकामध्ये आधाभन्दा बढीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ । बिहीबारसम्ममा गोरखामा ३४ हजार ४५७ र सिन्धुपाल्चोकमा पनि ३४ हजार ४७५ जनासँग अनुदान सम्झौता भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु