‘डेंगुबाट सतर्क हुनु तर त्रसित नहुनु’

२०७३ कार्तिक ९ गते, मंगलवार

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावितहरुको संख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित भने नहुन आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले आइतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिए । उनका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको संख्या १०० पुगेको छ । यो संख्या अझै बढ्ने देखिएपनि त्रसित हुन भने नपर्ने उनले बताए । ज्वरो आउने र शरीर सिथिल भएमा तत्काल अस्पताल जान समेत उनले सवैलाई आह्वान गरेका छन् । उनले लामुखट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरीपरी लामखुट्टे नआउने वातावरण बनाउन र टोकाईबाट बच्न आग्रह पनि गरेका छन् ।
झापा, चितवन लगायतका केही जिल्लामा डेंगुको संक्रमण पुष्टी हुनासाथ स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा डेंगु विरुद्धको विषेश अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा ३, काठमाडौं, रुपन्देही र कैलालीमा २, २ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुर, धादिङ्ग, काभ्रे, कास्की, स्याङ्गजा, बाग्लुङ्ग, बारा र सप्तरीमा एक एक जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । यो संख्या अझ बढ्न सक्ने भएकाले सतर्क हुन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ । डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सवै ठाउमा आवश्यक किट, औषधी लगायतका उपचार सामग्री सहित चिकित्सकहरुको टोली खटाइएको डा.आचार्यले जानकारी दिए । झापाको दमक नगरपालिका सहित तोपगाछी र लखनपुर गाविसमा प्रभावितहरु भेटिएका छन् ।
मन्त्रालयले काठमाडौबाट डा. यदुचन्द्र घिमिरे र ल्याव टेक्नीसियन डवल वहादुर विसिको टोलीलाई प्रभावित ठाउमा यसअघि नै पठाइएकोमा मंगलबार किट विषेशज्ञ प्रमोद मेहतालाई पनि पठाउने भएको छ । मन्त्रालयबाट गएको टोली, जिल्ला जनस्वास्वास्थ्य कार्यालयको टोली, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली खटिएको ठाउमा एक दुई दिनपछि विश्व स्वास्थ्य संगठनका विषेशज्ञलाई पनि पठाउने तयारी भएको छ
महाशाखाका निर्देशक डा आचार्यले सोमबार संगठनका नेपाल प्रतिनिधिलाई भेटेर विषेशज्ञ र किट सहयोगका लागि आग्रह गरेकोमा उनी तयार भएको आचार्यले बताए । उनले प्रभावितहरुको संख्या निकै धेरै नै बढ्दै गएमा सुरक्षा निकायसँग समेत सहयोग माग्न सकिने जानकारी दिए ।

प्रतिक्रियाहरु