डा. केसीद्वारा पुन: अनसन सुरु

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौ, ७ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आज चार बजेदेखि ८ बुँदे माग सहित पुन आमरण : अनसन थालेका छन् । अनसन बस्नु भन्दा अघि पत्रकारहरुलाई आफूले उठाएको मागबारे केसीले ब्रिफिङ गरेका थिए । पत्रकार सम्मेलनमा उनले सरकारले पटक-पटक धोका दिएकोले यसपटक आफूले माग पूरा नभएसम्म अनसन नतोड्ने बताए । पटक-पटक सम्झौता गर्ने सरकारले माग पूरा गर्ला त भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘अब सरकारले निर्णय गरेपछि मात्रै आन्दोलन टुंगिन्छ ।’ माग सम्वोधन नगरे नेपाली जनता सरकार विरूद्ध लड्ने र माग पूरा गराउन बाध्य बनाउने केसीले बताए । वेथिति विरूद्ध लड्ने हरेक नेपाली नागरिकको कर्तव्य अनुसार अाफू पनि बेथितिविरूद्ध लडेको केसीले बताए ।
केसीको यो छैठौं अनसन हो । आफ्नो अनसनले अस्पतालको उपचार सेवामा कुनै प्रभाव नपर्ने केसीले दाबी गरे । मन्त्रीमण्डलबाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएर आवश्यक नीति र कानून निर्माणको प्रक्रिया तत्काल थाल्नुपर्ने उनकाे माग छ ।
यस्तै, दलीय भागबण्डामा नभई बरिष्ठता र कार्यक्षमताको आधारमा नियुक्ति गर्नका लागि तत्काल उच्च स्तरीय आयोग गठन गरेर प्रक्रिया अघि बढाउनुपर्ने, विगतमा भएका स्वास्थ्य शिक्षा सम्बन्धीका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतको माग छ । स्वास्थ्य शिक्षामा बढ्दो भ्रष्टाचार अन्त्य गर्नुपर्ने उनको माग छ । दुर्गम क्षेत्रमा शिक्षण अस्पताल निर्माण प्रक्रिया तीब्र बनाउनुपर्ने, जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई अबिलम्ब ब्यवस्थापन गरी उक्त मेडिकल कलेजका पूर्व सञ्चालकहरुलार्य कानून बमोजिम कारबाही गर्नुपर्ने लगायतको माग पनि डा केसीको छ ।

प्रतिक्रियाहरु