डा. केसीको माग पुरा गर्न २४ घन्टाको अल्टिमेटम

२०७३ मंसिर १५ गते, बुधबार

काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डीनको राजीनामालगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत् प्रा.डा. गोविन्द केसीलाई सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले समर्थन जनाएको छ । गोदानका महासचिव डा. विष्णुरथ गिरीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रा.डा. केसीको अनशन टुंग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुबै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ ।
महासचिव डा. गिरीले २४ घन्टापछि डा. केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संघर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आमनागरिकमा आग्रह गरेका छन् । नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भइ जेहेन्दार विद्यार्थीले सर्वसुलभरुपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्नेलगायतका मागप्रति गोदानले ऐक्यबद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
डा. केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत् र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति–निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ ।
सरकारले प्रा.डा. केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चारपटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन । – रासस

प्रतिक्रियाहरु