‘डा. केसीको माग जायज ‘

२०७५ श्रावण १० गते, बिहीबार

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले अनसनरत डा. गोविन्द केसीले उठाएका मागहरु जायज भएको भन्दै पूरा गर्न सरकारसँग माग गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २५ दिनेदेखि आमरण अनसनरत केसीले राखेका मागहरु तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् । सम्पूर्ण नीजि मेडिकल कलेजलाई राष्ट्रियकरण गर्दै स्वास्थ्य क्षेत्रको जिम्मा पूर्णरुपमा राज्यले लिनुपर्ने धारणा अखिल (क्रान्तिकारी)ले अगाडि सारेको छ । स्वास्थ्य क्षेत्रको पूरै जिम्मा सरकारले नलिएसम्ममा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या समाधान नहुने तर्क उसले गरेको छ ।
‘चिकित्सा शिक्षा मात्र होइन, जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने नर्सिङ, फार्मेसी, एचए, ल्याब एसिस्टेन्ट, रेडियोलोजीलगायत विषयलाई गुणस्तरीय बनाउन राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरी अविलम्ब लागू गर्न माग गर्दैछौं’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै राजीनामा दिएका कानून मन्त्री शेरबहादुर तामाङ र विराटनगरस्थित नवनिर्मित बी एण्ड सीका मुख्य संचालक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सा शिक्षा अध्यायनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले राष्ट्रिय अस्मितामाथि आँच र राष्ट्रलाई नै लज्जित तुल्याउने काम गरेको जनाउँदै दुवै जनालाई तत्काल नियन्त्रण लिई कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘राजीनामा दिएर चोखिन मिल्दैन । तामाङ र मेडिकल माफिया प्रसाईँलाई तत्काला नियन्त्रणमा लिई कारवाही गर्न जोडदार माग गर्दछौं ।’
बंगलादेशमा अध्यायनरत सबै नेपाली विद्यार्थीको अवस्थाबारे स्थलतगत अध्यायन गरी वास्तविक स्थिति सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ । प्रसाईँलाई मेडिकल शिक्षाको माफियाको संज्ञा दिइएको छ । प्रसाईँ केही दिनपहिले एक टेलिभिजनमा बोल्दै बंगलादेशमा अध्यायनरत नेपाली छात्राहरुले डाक्टरकाे सर्टिफिकेट पाउन कलेज संचालकहरुलाई ‘अस्मिता सुम्पिनु परिरहेको’ अभिव्यक्त्ति दिएका थिए । मन्त्री तामाङले पनि साेही अाशयको भनाई सार्वजनिक रुपमा राखेका थिए । उक्त भनाईको चाैतर्फी विराेध भएपछि मन्त्री तामाङले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् ।
त्यस्तै कृषि तथा वन विश्वविद्यालयले आंगिक कलेज विस्तार नगरेर आर्थिक चलखेलबाट नीजि कलेजलाई सम्बन्धन दिन गरेको निर्णय तत्काल खारेज गर्न विश्वविद्यालय प्रशासनलाई चेतावनी दिइएको छ ।
उदयपुरमा संचालित मोर्डन इन्स्च्यिुटमा अध्यायनरत विद्यार्थीसँग उत्तिर्ण गरिदिने प्रलोभनमा चर्को रकम असुलेको, इन्स्च्यिुटले छात्राहरुमाथि अनैतिक व्यवहार गरेको र छात्रवृत्तिमा चरम अनियमितता गरेको अभिभावकहरुबाट गुनासो र उजुरी परेपछि अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । इन्स्च्यिुटलाई समस्या सल्टाउनबारे ध्यान दिन आग्रह गर्दै अखिल (क्रान्तिकारी)विरुद्ध झुठा आरोप नलगाउन र अनर्गल प्रचार नगर्न समेत उसले इन्स्च्यिुट प्रशासनलाई चेतावनी दिएको छ ।
त्यसैगरी जनयुद्धकालीन द्वन्द्वका पीडित गोरखा फुजेलकी गंगामाया अधिकारीलाई न्यायको साटो नगद रकम दिने भनी सरकारले गरेको निर्णयको अखिल (क्रान्तिकारी) विरोध गरेको छ । उसले पैसा दिनुलाई गैरन्यायिक र शान्तिविरोधी कदम भन्दै गंगामायालाई पैसा होइन न्याय दिनुपर्नेमा जोड दिएको छ ।
विगतको द्वन्द्वका सबै पीडितहरुलाई राज्यले कुनैपनि बहानामा भेदभाव गर्न मिल्दैन । त्यसकारण गैरकानूनी तरिकाले गंगामायालाई पैसा दिने निर्णय तत्काल खारेज गर्न र सम्पूर्ण द्वन्द्वपीडितहरु उचित न्यायसहित सम्बोधन गर्न जोडदार माग गर्दछौं’ अध्यक्ष ढकालले विज्ञप्तिमा भनेका छन् । सरकारले हालै मात्र गंगामायालाई तोडाउँदै १ करोड २० लाख रुपैयाँ नगद दिने निर्णय गरेको थियो । निर्णयको चाैतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रियाहरु