डा. केसीका पक्षमा सामूहिक सत्याग्रह

२०७५ श्रावण ६ गते, आईतवार

काठमाडौं, ६ साउन । नागरिक समाजका अगुवाहरुले २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थाल्ने भएका छन । सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा हुनेछ । जहाँ आम नागरिक सहभागिता बन्नेछ । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले हिजो पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।
यता, २३ दिनदेखिको आमरण अनशनरतका कारण डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै शिथिल भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा. केसीलाई बीसौं दिनका दिन सरकारले काठमाडौं ल्याएपनि थप वार्ता नहुँदा डा. केसीले उपचार नै गर्न मानेका छैनन् । उपचार गर्नै अस्वीकार गदा स्वास्थ्यस्थिति दिनप्रतिदिन शिथिल बनेको हो । काठमाडौंको शिक्षण अस्पतालमा उनी निरन्तर अनशनमा छन् । आफुलाई इच्छाविपरित बल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान डाक्टर केसीले लिएका छन् । उनलाई अहिले अक्सिजन र सामान्य स्लाइन मात्र दिइएको छ । चिकित्सकहरु भने उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् ।
डा. केसीलाई काठमाडौं ल्याएर वार्ता थाल्ने बताएको सरकारले तीनसम्म पनि वार्ताप्रति कुनै वास्ता नगरेको हो । हिजो भने सरकराले बिना शर्त वार्तामा आउन केसी पक्षधरलाई आह्वान गरेको छ ।

प्रतिक्रियाहरु