डर – बलराम तिमल्सिना

२०७५ भाद्र २० गते, बुधबार

छोरो हुर्क्यो ठूलो भयो,
बलात्कारी होला भन्ने डर
छोरी हुर्की ठूली भई,
बलात्कारमा पर्ली भन्ने डर !
समाज छ मानवखोर,
सँधैभरि हुने डरै डर !

छोरो पढ्यो जागिरे भो ,
घुषखोरी होला भन्ने डर !
चोकै भरि पुलिस छन,
तर चोरी होला भन्ने डर !
व्यवस्था छ लुटी खाने ,
सोझालाई सँधै डरै डर !

यौटा साथी व्यापारी भो,
कालो धन्दा गर्ला भन्ने डर !
व्यवसायी भएको मान्छे,
काम गन्धा गर्ला भन्ने डर !
इमानको खडेरी छ ,
रात पनि दिन पनि डर !

नेता वन्छन् मन्त्री बन्छन,
के बेचेर खान्छन् भन्ने डर !
पढालेखा वुध्दिजीवी ,
कुन महादेश जान्छन् भन्ने डर !
जमाना छ चोरजस्तो,
निमुखालाई सँधै डरै डर !

“गरिव”को सरकार छ ,
गरिवैलाई लुट्छ भन्ने डर !
विश्वास छ शिशाजस्तो,
जति खेरै फुट्छ भन्ने डर !
अनिश्चित भविष्यको,
कल्पनामा सँधै डरै डर !

प्रतिक्रियाहरु