डब्बल नेकपा काँग्रेसकै बाटोमा – हस्तबहादुर केसी

२०७६ चैत्र २ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल सरकारको निर्वाचन आयोगमा दर्ता छ । यस पार्टीका दुईवटा अध्यक्ष छन् प्रथम अध्यक्ष हुन खड्गप्रसाद शर्मा ओली भने दोस्रो अध्यक्ष हुन पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रथम अध्यक्ष केपी ओली वर्तमान सरकारको प्रधानमन्त्री छन् । जुन सरकारलाई कम्युनिस्टहरूको दुई तिहाईको सरकार भनिएको छ । दोस्रो अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष घोषित भएका छन् । र अहिले उनको नेकपा (नेकपा) भित्र निकै चुरीफुरी चलेको छ । यही २०७६ फाल्गुन २८ गते विहान ७.३० बजे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७० करोड भ्रष्टाचारकाण्डमा मुछि पछि नैतिकता आधारमा पदबाट राजिनामा दिइसकेका ओली सरकारका प्रवक्ता तथा सूचना तथा सन्चार मन्त्री गोकुल प्रसाद बास्कोटाको भक्तपुर लोकन्थलीमा रहेको आलिसान महलमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक शक्तिशाली बम विष्फोट गरायो । उक्त विष्फोटले निज बास्कोटाको घरमा मात्रै क्षति पु¥याएन कि नेपालका सारा भ्रष्टाचारीहरुका काठमाडौंमा ठड्याइएका आलिसान महलहरु थर्किन पुगेको राजधानीवासीलाई एका विहानै महसुस गरायो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका महाभ्रष्टारीहरु जो सत्ताधारी पनि बनेका छन् र अकुत सम्पत्ति कमाएका छन् । राजधानी लगाएत देशका ठूला शहरमा आलिसान महल ठड्याएका छन्, उनीहरूका मनमा विप्लव नेतृत्वको माओवादीले महाभ्रष्ट गोकुल बास्कोटाको घर मात्रै थर्किएन आफ्ना आलिसान महलहरु पनि हल्लिएको महसुस गरे । यसै विषयमा अत्तालिन पुगेका सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालै उनको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट एउटा प्रेस विज्ञप्ति निकाले र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आतंककारी’ करार गरे ।
प्रचण्डद्वारा प्रेसित त्यस बक्तव्य प्रकाशमा आइसके पछि आमनेपाली जनताको मनमष्तिष्कमा २०५२ साल फाल्गुन १ गते राति एउटै समयमा रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडिज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी र गोर्खा जिल्लाको कृषि विकास बैंकको साना किसान बैंक माथि एकै सात सशस्त्र फौजी आक्रमण गरेर सशस्त्र जनयुद्धको थालनी गरे लगत्तै तत्कालीन नेपाली काँग्रेसको सरकारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ‘आतंककारी’ घोषणा गरेर त्यस पार्टीलाई प्रतिबन्ध लगायो र माओवादीले सन्चालन गर्ने गतिविधिहरुलाई पनि आतंककारी गतिविधि घोषणा गरेर प्रशासनिक बल प्रयोग गरेर उक्त माओवादी जनयुद्धलाई तीन महिना भित्रै सिध्याउने घोषणा गरेको थियो । अहिले प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आतंककारी’ घोषणा गरे पछि नेपाली जनताले त्यही २०५२ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई आतंककारी घोषणा गर्ने नेपाली काँग्रेसकै बाटोमा वर्तमान सत्ता र सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई उही काँग्रेसकै बाटोमा फर्केको महसुस गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई त प्रतिक्रियावादी वर्गको सत्तारुढ बन्न पुगेको अर्को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक वर्ष पहिले अर्थात् २०७५ साल फाल्गुन २८ गते नै प्रतिबन्ध लगाइसकेको थियो । त्यस पछि डब्बल नेकपाको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि भीषण दमनचक्र चलाएर सामाजिक फासीवादी हर्कतहरुलाई अगाडि बढाउँदै ल्याएको छ । प्रतिबन्ध लगाइसके पछि ओली नेतृत्वको सामाजिक फासीवादी सरकारले विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका गतिविधिहरुमाथि निगरानी बढाउँदै लग्यो । विप्लव नेतृत्वको नेतृत्वको नेकपामाथि भीषण दमनमा उत्रियो । देशव्यापी रुपमा उसका नेता, कार्यकर्ताहरुलाई व्यापक रुपमा विनाकारण धरपकड गर्ने र झुठ्ठा मुद्दाहरु लगाएर जेलहरुमा कोच्ने गर्दै आयो । यस एक वर्षको अबधिमा विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरु झुठा मुद्दामा फसाइएर जेलमा सढाइएको छ । सर्बोच्च अदालतले रिहाइको आदेश दिएका बन्दीहरुलाई अदालत परिसर भित्रैबाट गिरफ्तार गरेर झुठा मुद्दाहरु लगएर जेलमा कोच्ने निर्लज्ज व्यवहार प्रदर्शन गर्दै आएको छ । र, यो फासीवादी सरकारले विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेललगायतका नेताहरुलाई गैरकानुनी रुपमा नृसंस तरिकाले वीभत्स रुपले हत्या समेत गर्दै आएको छ ।
त्यति मात्र होइन अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीका गतिविधिहरुमाथि यो डब्बल नेकपाको ओली नेतृत्वको सामाजिक फासीवादी सरकारले नियन्त्रण गर्दै आएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पार्टी काम र अन्य गतिविधिहरुमाथि पनि यो ओली नेतृत्वको फासीवादी सरकारले निगरानीलाई मात्र अगाडि बढाएको छैन, त्यस पार्टीका युवा, विद्यार्थीहरुलाई विनाकारण धरपकड गर्ने, झुठ्ठा मुद्दाहरु लगाउने काम समेत गर्दै आएको छ । अर्थात् डब्बल नेकपाको फासीवादी सरकार साम्राज्यवादी, विस्तावादीहरुको निर्देशनमा, उनीहरूको ग्राण्डडिजाइनमा र योजनामा चल्ने भएकोले नेपाली क्रान्तिलाई समाप्त पार्ने योजनाका सात अगाडि बढिरहेको छ ।
करिब डेढ वर्ष पहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) रातारात किन र कसरी एकता गर्न पुगे ? भन्ने जनताको व्यापक चासो र जिज्ञासा थियो । हामी क्रान्तिकारी कम्युनिस्टहरूले उनीहरूको एकतालाई नेकपा (माके) एमालेमा विलयभएको विश्लेषण र संश्लेषण गरेका थियो । त्यो एकतासंगै बनेको डब्बल नेकपाको घोर प्रतिक्रियावादीहरुको सरकार भएकोले क्रान्तिकारीहरुमाथि भीषण फासीवादी सत्ता चलाउने छ भनेका थियौ, त्यो संश्लेषण आज आएर सही प्रमाणित हुन पुगेको छ । किनभने डब्बल नेकपाका कार्यकारी अध्यक्ष अर्थात् भूपू एमालेका ल्याएतित अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ यही २०७६ साल फाल्गुन २८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीदाई प्रेस विज्ञप्ति मार्फत ‘आतंककारी’ घोषणा गरे पछि यो कुरा सत्य सावित हुन पुगेको छ । अर्को महत्वपूर्ण कुरा के पनि हो भने साम्राज्यवादीहरु, विस्तारवादीहरु र संसारभरका प्रतिक्रियावादी शक्तिहरुले त्यति हतारमा दश वर्षको जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डलाई उनका आसेपासे, धुपौरेहरुको दलबलका साथ किन जनयुद्ध सञ्चालन भइरहे कै बेला स्वयं प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को अध्यक्षको हैससियतबाट यस्तै प्रेस विज्ञप्तिमार्फत तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई प्रतिक्रियावादी घोषणा गरिसकेको पार्टी त्यही एमाले भित्र किन त्यति सजिलोसँग आफ्ना चरम अवसरवादी आसेपासे र धुपाउरेहरुको ठूलो हुलको नेतृत्व गर्दै छिरेको कुरा अहिले प्रमाणिात हुन पुगेको छ । त्यो के हो भने एमालेले दश वर्षको जनयुद्धको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरुको काँधमा बन्दुक अढ्याएर (तेर्साएर) नेपालका क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलीले भुटेर नेपाली क्रान्तिलाई क्षत–विक्षत गराउन चाहन्थ्यो । नेपाली क्रान्तिलाई समाप्त पारेर विश्व भरका क्रान्तिकारी कम्युनिस्टहरूलाई त्रसित तुल्याउन चाहन्थ्यो । त्यसो भएर नै आज त्यही एमालेले नै पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रेस विज्ञप्तिमार्फत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आतंककारी’ घोषणा गर्न लगाएको हो । यस मामिलामा पुरानो एमाले आज विजयी भएको छ । आज पुराना एमालेहरुको इच्छा, आकंक्ष र उद्देश्यहरु पुरा भएको महसुस गरिरहेका छन् ।
अमेरिकी साम्राज्यवादले पनि चाहेको विषय के हो भने दश वर्ष जनयुद्धको नेतृत्व गरेर आएको व्यक्ति पुष्प कमल दाहाल ‘प्रचण्ड’ कै हातमा बन्दुक थमाएरैै नेपाली क्रान्तिलाई समाप्त गर्न चाहन्छ, नेपालका क्रान्तिकारी कम्युनिस्टहरूलाई तहस नहस पार्न चाहन्छ । नेपाल भित्रकै प्रतिक्रियावादीहरु पनि प्रचण्डलाई नै अगाडि सारेर, उनको हातमा बन्दुक थमाएरै नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई समाप्त पार्न चाहन्छन् । प्रचण्डको त्यो बक्तव्यले आज उनिहरु विजयी भएका छन् । यो संसार कै पहिलो परिघटना हो । किनभने क्रान्ति पुरा नहुँदै, एक कालखण्डमा क्रान्तिको, भीषण वर्ग संघको नेतृत्व गरेर आएको ब्यक्तिले अर्को कालखण्डमा प्रतिक्रियावादीहरुको मतियार र गोटी बनेर साम्राज्यवादीहरु, विस्तारवादीहरु र संसार भरिएका कम्युनिस्ट विरोधी प्रतिक्रियावादीहरुको मतियार र गोटी बनेर क्रान्तिकारीहरुलाई समाप्त पार्ने पात्रका रुपमा आज प्रचण्ड विश्व जनताका सामु खडा भएका छन् । बर्ग दुश्मनहरु उनलाई यसरी उभ्याउन सफल भएका छन् । त्यसैले प्रचण्डद्वारा नै नेपाली क्रान्तिलाई समाप्त पार्न लगाइनु । प्रचण्डद्वारा नै नेपालका क्रान्तिकारी कम्युनिस्टहरूलाई समाप्त पार्न लगाइनु, यो संसारकै पहिलो घटना हो । आज यो संसार कै जनताको निम्ति एउटा शिक्षा पनि हो ।
अतः यसरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज नेपाली काँग्रेसको बाटोमा फर्केको छ । र मुलुकको राजनीतिक अवस्था पनि आज २०४७ तिरको अवस्थामा फर्केको छ, चेतना भया !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु