ठेकेदार भेटवालद्वारा आत्मसमर्पण

२०७६ फाल्गुन २७ गते, मंगलवार

काठमाडाैँ, २७ फागुन । ‘काठमाडौं भ्यूटावर’का ठेकेदार मनोजकुमार भेटवालले आत्मसमर्पण गरेका छन् । पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’काे ठेक्का लिएर निर्माण कार्यमा समेत ढिलाइ गरिरहेका भेटवाल बैंकिङ कसुरमा मुछिएपछि भारततिर फरार रहेका थिए । तेह्रथुम घर भएका भेटवालले भारतबाट फर्केर आज बिहान प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेकाे महानगरीय परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । भेटवालले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध चन्द्र तामाङले बैंकिङ कसुरको केटानी जाहेरी प्रहरीमा दर्ता गराएका थिए ।
७ अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन । भेटवालविरुद्ध गत साउनमा राजस्व अनुसन्धान विभागले समेत अवैध हुण्डी कारोबारको मुद्दा दायर गरेको थियो । भेटवाल पटकपटक विवादमा पर्दै अाएका व्यक्ति हुन् । यसअघि रत्नपार्ककाे खुलामञ्चमा अवैध सटर बनाएर भाडामा लगाएका थिए । तर पछि जनस्तरबाट विराेध भएपछि काठमाडाैँ महानगरपालिकाकाे नेतृत्वमा ती भतकाइए ।
भेटवालकाे कम्पनी जलेश्वर स्वच्छन्द बिकोई प्रालि पछिल्लो समय आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको छ । टावर बनाउन स्वच्छन्द बिकोईले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछि पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । साहु कम्पनीले उपकरण लगेपछि भेटवाल भारततिर लागेका थिए । नेपाल आएको मौका पारेर प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ । ०६८ असार २६ गते काठमाडौं महानगरपालिका नगरपरिषद्ले २३ रोपनी ५ आना जग्गामा सार्वजनिक निजी साझेदारी मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो । तर निर्माणले भने गति लिन सकेकाे छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार