ठूलाहरूको संसारमा – बलराम तिमल्सिना

२०७६ भाद्र ४ गते, बुधबार

ठूलाको खुट्टामा काँडा बिझे पनि
आँसुको मूल फुट्छ र
समवेदनाको बाढी आउँछ
यो ठूला बडाको संसारमा !

सानाको मुटुमा झिर उने पनि
आँखाहरू रसाउँदैनन्
न त समवेदनाको कुलो बग्छ
यो न्याय मरेको समाजमा !

ठूलाहरूको दिर्घायु निम्ति
सानाहरूको वली दिइन्छ
ठूलाहरूको तिर्खा मेट्न
सानाहरूको रगत पिइन्छ
ठूलाबडाको परम्परामा !

मान्छे विरामी हुन्छ
बोको वलिमा चढ्छ
भैंसीले दूध दिदैन
कुखुराको हत्या हुन्छ
यो हुनेखानेको साम्राज्यमा !

ठूलाहरूकै खुसीको निम्ति
हाँस्नु पर्छ सानाहरूले
ठूलाहरूकै दुखको निम्ति
रुनु पर्छ सानाहरूले
यो परपीडकको कानूनमा !

न आफ्नो छुट्टै हाँसो हुन्छ
न आफ्नो छुट्टै आँसु हुन्छ
एतिसम्म कि जिन्दगी पनि
ठूलाकै इच्छा अनुसार हुन्छ
यो ठालुहरूको शासनमा !

प्रतिक्रियाहरु