‘ठालु’ जमातविरुद्ध एकीकृत जनक्रान्ति – खेम थपलिया

२०७३ पुष २९ गते, शुक्रबार

क्रान्तिकारी पार्टीको सदस्यताका आधारमा मात्र क्रान्तिकारी भइँदैन । कुनै दिन वर्गसङ्घर्ष विरोधी घातक परिचय क्रान्तिकारी आवरणबाटै आउन सक्ने प्रवल सम्भावना माओवादी आन्दोलनमा आएको पछिल्ला वैचारिक स्खलनले देखाएको छ । सार–सङ्ग्रहवादविरूद्ध भौतिकवादी द्वन्द्ववाद र वर्गसङ्घर्षको सिद्धान्तको पक्षमा दृढतापूर्वक उभिने कुरा के भाषण र लेखनका विषय मात्र हुन् ? यो गम्भीर प्रश्न हामी सबैका सामु खडा भएको छ । वैचारिक झन्डालाई निरन्तर रूपमा उठाइराख्नुपर्छ भन्दाभन्दै मालेमावादी प्रस्तावनाका विरुद्ध ‘शिउ हु चान’ उपन्यासको ‘चु’ गाउँका निठुरी जमिनदार ‘चु चाओ फेङ’ जस्ता ठालु उत्पादन गर्ने कारखाना माओवादी आन्दोलन बनाउँदै त छैनौँ ? अहिले कतिपय कम्युनिस्ट पार्टीका नेताहरू (माओवादी पनि) बहुराष्ट्रिय कम्पनीका ठेकेदारजस्ता बनेका छन् । बिजुक्छेको जुझे विचारधारा, डा.विकासानन्दको आध्यात्मिक मनोक्रान्ति र बुद्धको आर्थिक साम्यवादको फ्युजनको कुरा प्रचण्डले गर्नु त्यसको राम्रो दृष्टान्त हो । बर्नस्टाइनदेखि अहिलेसम्मका दक्षिणपन्थी संशोधनवादीहरू र कथित नववामपन्थी तथा तमाम उत्तर–आधुनिकतावादीहरूले जे गर्दै आए, तिनको प्रतिबिम्बन नेपालका वाम पार्टीहरू (माओवादीमा पनि) मा राम्रै परेको देखिन्छ । आज नेकपा (माओवादी केन्द्र) जानी–नजानीकन देवोरियन र बुखारिनको पदमार्ग पछ्याउन उद्यत छ ।
देवारियन (सन् १८८१–१९६३) सोभियत दार्शनिक हुन् । उनले सिद्धान्तलाई व्यवहारबाट र दर्शनलाई राजनीतिबाट अलग्याउने जुन गम्भीर भुल गरेका थिए, त्यही भूल आज नेपालका जनआधारित पार्टी भन्नेहरू (माके र एमालेसहित) बाट भइरहेको छ । बुखारिन (सन् १८८८–१९३८) रसियाली क्रान्तिमा लेनिन विरोधी डफ्फाका नाइके थिए । उनले देशद्रोही डफ्फामा सामेल भएर अन्तर्विरोधहरूलाई ढाकछोप गर्ने र वर्गसङ्घर्षका ठाउँमा वर्ग सहयोगको गलत विचार ल्याएका थिए । विसर्जनवादको विशेषता भनेको क्रान्तिकारी विचारधारा र त्यसैद्वारा पथप्रदर्शित कम्युनिस्ट पार्टी, क्रान्तिकारी कार्यदिशा तथा सङ्घर्षको परित्याग गर्नु र सबै क्षेत्रमा वैधानिकतावादमा जोड दिनु हो । समकालीन नेपाली राजनीतिमा यसको नेतृत्व माके अध्यक्ष प्रचण्डले गरिरहेका छन् । कुनै बेला अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाल जस्तो मुलुकमा सम्पन्न गरिने क्रान्तिको मूल राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादमा जाने महान् उद्देश्यमा आधारित छ भन्नेहरू प्रचण्ड–बाबुरामहरू आज ‘ठालु’ हरूको जमातमा फेरिँदै गएका छन् । के हामी नेपालको कम्युनिस्ट आन्दोलन (माओवादीसमेत) भित्र रहेको ठालुहरूको ‘अपूर्व थुप्रो’ लाई रूपान्तरण गरी क्रान्तिकारी अभियानमा केन्द्रीकरण गर्न सक्छौँ ? नेकपा (माओवादी) ले क्रान्तिकारी ध्रुबीरकणको नेतृत्व गर्नु अपरिहार्य भइसकेको छ ।
क्रान्ति कसैको पेवा होइन, ठेक्का पनि होइन, न त यो व्यापार नै हो । यो त क्रान्तिकारी कर्म हो । यो कुनै एकजना बहादुरले गर्ने काम पनि होइन । यो सामूहिक कर्म हो । जीवनमा एकपटक क्रान्तिकारी भएर नपुग्ने रहेछ । क्रान्तिको लक्ष्य पूरा नभएसम्म निरन्तर क्रान्तिकर्ममा लागिरहनु क्रान्तिकारीे दायित्व हो । नेकपा (माओवादी केन्द्र) ठालूहरूको जमातबाहेक केही होइन । तसर्थ, क्रान्तिकारी पार्टी र क्रान्तिमा ठालूहरूका ‘संशोधनवादी मानक’ को कुनै स्थान छैन र हुँदैन पनि । क्रान्तिलाई अघि बढाउने हो भने आधिकारिक रूपमा एकीकृत जनक्रान्तिको पक्षपोषण गर्दै ठालू–दलालका विरुद्ध सङ्घर्षशील बन्नैपर्दछ । यसर्थ, नेकपा (माओवादी) लाई सैद्धान्तिक, राजनीतिक, वैचारिक तथा भौतिक रूपमा अझ उचाइबाट शस्त्र–अस्त्रयुक्त बनाऔँ । ‘ठालू’ जमातविरुद्ध एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु