एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ

२०७५ भाद्र ६ गते, बुधबार

काठमाडौं , ६ भदौ । एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलो पर्ने मिठाइले धेरैको ध्यानाकृष्ट गरेको छ । गुजरातको सुरतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलोको मिठाइ पाइन्छ । ‘गोल्डेन स्वीट’ नाम दिइएको सो मिठाइमा सुनकै जलप लगाइएको हुन्छ । रक्षा बन्धन पर्वलाई ध्यानमा राखेर उक्त मिठाइ बजारमा ल्याइएको हो । रोहन मिठाइवालाले उक्त मिठाइ बजारमा ल्याएका हुन् । उनका अनुसार पाँच प्रकारका मिठाइ उच्च क्वालिटीका साथ बजारमा ल्याइएको हो । उक्त मिठाइमा प्रयोग हुने केसर स्पेनबाट मगाइएको उनको दावी छ । त्यस्तै १८० नम्बरको काजु, सुनको जलप मिठाइका प्रमुख आकर्षण हुन् ।
काजुकरी, नरगिस कलम, पिस्ता बादशाह, ड्राइफुड आउट र केसर गुञ्ज नामका पाँच मिठाइ उच्च क्वालिटीसहित तयार पारिएका हुन् जो आम मिठाइको तुलनामा निकै महँगा छन् । मिठाइमा शुद्ध सुनको लेप लगाइएको हुन्छ । मिठाइमा प्रयोग भएको सुन बजारमा पाइने सुनको तुलनामा महंगो हुने रोहनको भनाइ छ । सुनलाई खान लायक तुल्याएर लेप बनाउन निकै खर्चिलो हुने भएकाले सुनको मूल्य बढी पर्न जाने उनले बताए । आफ्नो मिठाइ पसल स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा यस प्रकारको मिठाइ बनाउने घोषणा गरिएको रोहनको भनाइ छ । उनको मिठाइ पसलमा अचेल मानिसको भीड लाग्ने गरेको छ । कयौं त मिठाइ हेर्नकै लागि आउने गरेको उनले बताए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु