ठगीधन्दामा न्यू जयलक्ष्मी गहनागृह

२०७२ माघ ११ गते, सोमबार

काठमाडौँ । काठमाडौँ न्यूरोडस्थित न्यू जयलक्ष्मी गहना गृहले ग्राहक ठग्दै आएको स्रोतले बताएको छ । सुनलाई आफ्नो सुन्दरता, सामाजिक प्रतिष्ठा, वित्तीय कारोबार र सुरक्षित लगानीको साधन भन्दै सुन, चाँदी र पत्थरको व्यापार गर्दै आएको उक्त गहना गृहले पाइला–पाइलामा ग्राहक ठग्ने गरेको स्रोतको दाबी छ । उक्त गहना गृहले ग्राहकलाई शुद्धता, तौल, ज्याला र जर्तीमा व्यापक ठगी गरिरहेको बताइएको छ । खासगरी हङकङ र बेलायती लाहुरे परिवार स्थायी ग्राहक भएको उक्त गहना गृहले पछिल्लो चरणमा व्यापक बद्मासी गर्न थालेपछि व्यापारसमेत खस्केको स्रोतको भनाई छ । खासगरी, पत्थर जडित औँठीहरु बनाउँदा फुटेको पत्थर राखिदिने, गहनाको तौलमा गडबढी गर्ने उक्त गहना गृहको मुख्य कमजोरी रहेको ग्राहकको गुनासो छ ।
त्यसैगरी, उक्त न्यू जयलक्ष्मी गृहना गृहले तत्काल नगद खाँचो परी सुन बन्धक राखी ऋण लिनेहरुको सुनसमेत गायब बनाउन अनेक प्रपञ्च गर्ने गरेको स्रोतले बताएको छ । खासगरी, हङकङ, युकेलगायत विदेशमा रहेका लाहुरेको परिवारसँग सुन बन्धक राखी ऋण दिने र ऋणको मिटरवाला दरमा ब्याज लिई अन्तिममा सुन नै पचाउने गरेको स्रोतको ठोकुवा छ । काठमाडौँको मुटु न्यूरोडमा रहेको उक्त गहना गृहले यसरी दिनहुँ ग्राहक लुटिरहँदासमेत सम्बन्धित निकायको कुनै ध्यान पुग्ने सकेको देखिँदैन । उक्त गहना गृहले सुनचाँदी व्यापारका नाममा गरेका बद्मासीहरुबारे हाम्रो पनि खोजबिन जारी रहने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु