ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाडौं, ५ कात्तिक । अत्याधिक सवारी चाप हुने काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०० सीसी क्यामरा, ५० ड्यासबोर्ड क्यामरा, ६४ ग्रोप्रो क्यामरा र १४ बडिवन क्यामराद्वारा उपत्यकाको ट्राफिक व्यवस्थापन गरेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले उपत्यकामा अत्याधिक मात्रामा लेन अनुशासन उल्लंघन हुने गरेको बताउँदै सडकमा अनुशासन कायम गराउनका लागि उक्त क्यामरा प्रयोगमा ल्याइएको जानकारी दिए । उनले भने–‘क्यामराको प्रयोगले सेवाको गुणस्तर बढ्नुका साथै ट्राफिक प्रहरीको बोलिचाली र आनीबानीमा सुधार आएको छ ।’ महाशाखाले सीसी क्यामरा सडकमा राखेको छ भने ड्यासबोर्ड क्यामरा हरेक ट्राफिक प्रहरी चढ्ने सवारी–साधनमा जडान गरिएको छ । यस्तै, ग्रोप्रो र बडिवन क्यामरा ट्राफिकको शरीरमा लगाएर सवारी व्यवस्थापन गरिएको छ । ग्रोप्रो र बडिवन क्यामरा लिएर गल्ली–गल्लीमा जान सकिने हुँदा यसको प्रयोग धेरै बढेर गएको प्रधानले बताए ।
यस्तै, महाशाखाले नागरिक आँखा (पब्लिक आइ) सेवासमेत सन्चालन गरेको छ । सवारी नियम उल्लंघन गरेका सवारी–साधनका तस्वीर नागरिकले महाशाखाको सामाजिक सञ्जालमा पठाएमा उक्त तस्वीरलाई अध्ययन गरी आवश्यक कारबाही गर्ने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले नागरिकले पठाएका तस्वीरलाई आधार मानेर आवश्यक अध्ययन गरी दैनिक ८ देखि १२ सवारी–साधनलाई कारबाही गरेको प्रहरी नायब उपरीक्षक प्रधानले जानकारी दिए ।

प्रतिक्रियाहरु