ट्राफिक ब्यबस्था अस्तव्यस्त , ट्राफिक प्रमुखलाई सिसि क्यामेरावाट अनुगमन गर्न सुझाब

२०७६ मंसिर १ गते, आईतवार


काठमाडाैँ , १ मंसिर । काठमाडौँ नया बानेश्वरको ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको सर्बसाधारणले गुनासो ब्यक्त गरेका छन् । ट्राफिक ब्यबस्थापनका लागि खटिएका ट्राफिकले नजरअन्दाज गर्दा अनावश्यक सवारी जाम हुने गरेको चालकहरुको गुनासो छ । खासगरी कोटेश्वर तर्फबाट आउने सवारी साधनले लेन अनुशासन उल्लंघन गर्दा अनावश्यक जाम हुने गरेको उनीहरुको अनुभव छ । काठमाडौँकै थापाथली, सिंहदरवारलगायतका स्थानमा ट्राफिक प्रहरीले लेन अनुशासन कायम गराउदा ट्राफिक ब्यबस्था सहज हुने गरेको तर नयाँबनेश्वर क्षेत्रमा ट्राफिक प्रहरीले नजरअन्दाज गर्दा अनावश्यक सास्ती बेहोर्नु परेको चालकहरु गुनासो गर्छन । बेला बेला ट्राफिक प्रहरीले लेन उलंघन गर्ने सवारी चालकलाई सिसि क्यामेराको मद्दतबाट कारबाही गरेको समाचारलाई इंगित गर्दै माइतिघरदेखि कोटेश्वर चोकसम्म सिसि क्यामेरा जडान गरिएको छ भन्ने सुनेको छु । ट्राफिक प्रहरी प्रमुखले कमसेकम दिनको एक पटक भए नि ती स्थानको ट्राफिक ब्यबस्थापन सिसि क्यामेरावाट हेरे केही सुधार हुन्थ्यो कि ? एक सवारी चालकले प्रश्न गरे ।
यस्तै, काठमाडौँ नयाँ बानेश्वरबाट थापागाउँ हुँदै सिंहदरबारतर्फ जाने सडकमा बनेको आकाशे पुल प्रयोजनहीन भएको छ । सो आकाशे पुल मुनि ट्राफिक प्रहरी खटिए पनि सडक नै जाम गर्ने गरी सर्बसाधारणले बाटो काटिरहेका हुन्छन । ट्राफिक प्रहरी नै आकाशे पुलको प्रयोग गराउनभन्दा सडकबाट नै बाटो काट्न सवारी साधन रोक्ने गरि रहेका हुन्छन् । संसद भवन अगाडिको यो दृश्य देख्दा लाज मान्नु पर्ने स्थिति रहेको सचेत नागरिकको भनाइ छ ।
यस्तै, काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा समस्या ज्यूँको त्यूँ देखिन्छ । ‘पिक एण्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ । यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाको प्रवक्ता ईश्वरमान डङ्गोल बताउँछन् । काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डङ्गोलको भनाइ छ । कार्यक्रम लागू भएपछि त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डङ्गोलको दाबी छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ ।
काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ । यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ । कार्यक्रम शुरुआतीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाडौँ उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि शुरु गरेको स्थानहरुमा समेत प्रभाकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन । काठमाडौँमा कलङ्की, बालाजुचोक, चावहिल चोक, नया बानेश्वर, कोटेश्वर, सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टौँ जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार