ट्राफिक नियम उल्लंघन गर्ने १८ सयभन्दा बढी कारबाहीमा

२०७६ आश्विन २१ गते, मंगलवार

काठमाडौं, २१ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ५ गतेदेखि लागू भएको चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत् सवारीचालकमाथि थप निगरानी बढाएको छ । यसक्रममा यात्रीहरुसँग बढी भाडा लिने ३१४ जना, क्षमताभन्दा बढी यात्री राखेर सवारी चलाउने ४० जना चालक, लामो दूरीको सवारी–साधनमा अनिवार्य दुईजना चालक राख्ने नियम पालना नगर्ने २६ जनालाई कारबाही गरिएको छ । महाशाखाकाअनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने १५ सय ३ जना र हेल्मेट प्रयोग नगरी तीव्रगतिमा मोटरसाइकल चलाउने १५ जना पनि ट्राफिक कारबाहीमा परेका छन् । आकस्मिकरुपमा मादकपदार्थ सेवन चेकजाँच दिउँसो पनि गरिएको र पहिलाभन्दा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको संख्यामा कमी आएको ट्राफिक प्रहरीका सहायक निरीक्षक मनमोहन पौडेलले बताए । आकस्मिक चेकजाँचलाई निरन्तरता दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु