ट्रम्पले लेखे किमलाई पत्र ( पत्रसहित )

२०७५ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौं, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोशका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको जनाइएको छ । आागमी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फीरुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले भने दुःखी भएको बताएको छ ।
जुन महिनामा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आएका थिए । तर, दक्षिण कोरियामा जारी रहेको कोरिया–अमेरिका सैन्य अभ्यासका कारण भने उनी क्रुद्ध भएका थिए । बिहीबार नै ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगनको सूचना सार्वजनिक गरेका थिए । उनले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीनरुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ । उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो । जुन १२ मा सिंगापुरमा हुने भनिएको सो वार्ताको विश्वव्यापीरुपमा नै ठूलो चासो रहेको थियो । उता, उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षण गर्ने स्थलहरु नै नस्ट गरेको जनाएको छ । उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नस्ट गरेको केही घन्टामै अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता स्थगित भएको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो । हालका लागि प्रस्तावित उक्त मितिमै उक्त वार्ता स्थगित गरिएको भएपनि आफू उत्तर कोरियासँग वार्ता गर्न आगामी दिनमा पनि इच्छुक रहेको ट्रम्पले बताएका छन् । उनले सो पत्रमा लेखेका छन्–‘तपाइँसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ । तर, दुःखको कुरा यहाँकोे पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन ।’ त्यस पत्रमा राष्ट्रपति ट्रम्पले आफूहरुसँग पनि पारमाणविक अस्त्र ठूलो शक्ति र मात्रामा रहेको पनि खुलासा गरेका छन् । उनले भनेका छन्–‘कोरिया आफ्नो पारमाणविक क्षमताको कुरा गर्छ । हामी पनि यसमा यति शक्तिशाली छौं कि तर म के भन्छु भने ईश्वरसँग मेरो प्रार्थना छ, ती शक्तिहरुको प्रयोग यस पृथ्वीमा कहिल्यै पनि गर्नु नपरोस् ।’ पत्रको अन्त्यमा ट्रम्पले किमलाई आफूलाई फोन गर्न पनि आग्रह गरेका छन् । ‘यदि यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला’–उनले लेखेका छन् । यस वार्ताको स्थगनले वास्तवमा भन्ने हो भने ‘विश्वले र अझ उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको’ अनुभव पनि राष्ट्रपति ट्रम्पले व्यक्त गरेका छन् । उता, हालैमात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ‘उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुनपनि सक्ने’ भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ । उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाएको समाचार बिहीबारमात्र आएको थियो । अमेरिकी उपराष्ट्रपतिको भनाइ अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाइ छ ।

कुनैपनि समयमा वार्तामा बस्न तयार छौं : उत्तर कोरिया
उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको भएपनि यसको मूल्यांकन नभएको जनाएको छ । उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरियासँग गरेको बृहत् शान्ति–सम्झौताबमोजिम नै आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नस्ट गरेको तर यसको मूल्यांकन अमेरिकाले नगरेको बताएको छ । ‘पछिल्लो समयमा गरेका प्रयासहरु र सदासयतालाई अमेरिकाले भने हाम्रो कमजोरीकारुपमा लिएको छ’–उत्तर कोरियाले भनेको छ । तर पनि उत्तर कोरियाले ‘अमेरिकासँग कुनैपनि समयमा वार्तामा बस्न तयार छौं’–भनेको छ । उत्तर कोरियाले आफूहरु कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि तयार भइसकेकाले अब यसका लागि अमेरिका र दक्षिण कोरियासँग वार्तामा बस्न आफूहरु तयार नै रहेको बताएको हो ।
फकाउँदै दक्षिण कोरिया
दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्ने तयारीमा लागेको बताएको छ । यी दुई देशबीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरिएकोमा त्यसको एक दिनमात्रअघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो । बिहीबार अमेरिकाले भने उत्तर कोरियासँग वार्तामा नबस्ने बताएको छ । यसबाट अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्नका लागि दक्षिण कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिणले लिएको हो ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’ले शुक्रबार दिएको जानकारीअनुसार छिट्टै नै अर्काे वार्ताका लागि उसले उत्तर कोरियालाई सम्पर्कमै राखेको छ र अर्काे मितिको वार्ताका लागि शुक्रबार सम्पर्क गर्नेछ । शान्ति–सम्झौता एक महत्वपूर्ण उपलब्धि भएकाले वार्ताबाट पछि नहट्न दक्षिण कोरियाले जोड दिनेछ । दक्षिण कोरियाले अर्काे वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । तर, यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ ।अमेरिकाले बिहीबार शिखर वार्ता स्थगित गरेपछिको अवस्थामा दक्षिण कोरियासँग उत्तरले तुरुन्तै अर्काे वार्तामा बस्न सहमति जनाउने छ या के गर्नेछ भन्नेबारेमा भने केही बताइएको छैन ।
अमेरिका–दक्षिण कोरिया फोनवार्ता
यसैबीच, शुक्रबार दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको जनाइएको छ । उनीहरुबीच बिहीबार अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी जुनमा सिंगापुरमा हुन लागेको शिखर वार्ता स्थगित गरेको जनाएपछि त्यसका विषयमा विकसित परिस्थितकाबारेमा उक्त फोनवार्ता भएको अनुमान गरिएको छ रासस/एएफपी

प्रतिक्रियाहरु