ट्रम्पले अभिव्यक्ति फेरे

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, २ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुको दावीलाई मान्ने बताएका हुन् । ‘आफूले त रुसले हस्तक्षेप नगर्ने कुनै कारण नभएको पो भनेको’ ट्रम्पले फेरेको बयानमा उल्लेख छ ।
फिनल्याण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटका क्रममा ट्रम्पले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप नभएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो । आफ्नो अभिव्यक्ति तोडमोड भएको देखेपछि प्रष्टिकरण दिएको पनि ट्रम्पको भनाइ छ । अनुसन्धान निकायहरुको दावीप्रति आफ्नो भरोसा रहेको पनि उनले प्रष्ट पारेका छन् ।
रुसको हस्तक्षेप नभएको बताएलगत्तै उनकै पार्टी रिपब्लिकनका सीनेटर लिन्ड्से ग्राहमले ट्रम्पको अभिव्यक्तिले अमेरिका कमजोर भएको संकेत दिएको भन्दै आलोचना गरेका थिए । अर्का सीनेटर जेफ फ्लेकले ट्रम्पले शर्मनाक शब्द प्रयोग गरेको टिप्पणी गरेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु