ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नाम सिफारिस

२०७५ असार १ गते, शुक्रबार

काठमाडौँ, १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार माध्यमका अनुसार नर्वेका एन्टि स्टाब्लिसमेन्ट प्रोग्रेस पार्टीका सांसदद्वय क्रिस्टियन ट्रेब्रिङ र पेर विली अमुन्डसेनले ट्रम्पको नाम सिफारिश गरेका हुन् । उत्तर कोरियाली नेता किम जुङ उनसँग गरेको ऐतिहासिक भेटले सम्बन्ध सुधारसँगै आणविक निशस्त्रीकरण र शान्तिमा महत्वपूर्ण टेवा दिएको भन्दै ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको हो । उता, अमेरिकामै भने राष्ट्रपति ट्रम्पको परोपकारी संस्था ट्रम्प फाउन्डेशनले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै न्यूयोर्क राज्यले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनाल्ड ट्रम्पको तर्फबाट लगभग चेकबुकको जस्तै काम गरेर विभिन्न व्यवसाय र गैरसरकारी संस्थालाई कानुन विपरित जथाभावी रकम दिएको आरोप लगाएकी हुन् । एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको अभियोग लगाइएको छ । तर ट्रम्प फाउन्डेशनले भने आरोप अस्वीकार गरेको छ । ‘फोहोरी डेमोक्र्याट’हरुले मुद्दा अघि सारेको आरोप राष्ट्रपति ट्रम्पको छ । ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितता सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु