ट्रम्पद्वारा चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा

२०७५ असार २ गते, शनिबार

काठमाडौं, २ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गरेका हुन् । वार्षिक व्यापारमा ३४ अर्ब डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनमा असर पार्ने भनिएको यो निर्णय आगामी जुलाई ६ तारिखदेखि लागू हुने छ । ह्वाइट हाउसले उसले १६ अर्व डलर मूल्यका अन्य उत्पादनको सूची बारे टिप्पणी गर्ने र यदि चीनले बदला लिए थप कर लगाउने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपतिको यस्तो निर्णयसँगै चीनले त्यसको जवाफ स्वरुप प्रतिवाद गर्ने जनाइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कदम चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्नका लागि अत्यावश्यक रहेको जिकिर गरेका छन् । यसले अमेरिकी रोजगारको रक्षा गर्ने उनको दाबी छ । उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताएका छन् । अमेरिकाले चीनले बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरु चिनियाँ कम्पनीहरुमा पठाउने प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने चाहेको छ ।
यसैबीच अमेरिकी राजदूत रोबर्ट लाईटहाइजरले राष्ट्रपति ट्रम्पले सही रुपमा यसको पहिचान गरेको र यदि देशको समृद्ध भविष्य होस् भन्ने चाहने हो भने निष्पक्ष व्यापार र अमेरिकाको प्रतिस्पर्धी स्वभावको संरक्षण गर्न अडान लिनुपर्ने बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु