ट्रम्पको ट्वीट ‘हाइड’

२०७७ जेष्ठ १७ गते, शनिबार

काठमाडाैं, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कतिपय ट्वीट भ्रामक भएको र त्यसले समाजमा गलत सूचना दिएको भन्दै ट्वीटरले ट्रम्पको एउटा ट्वीट सिधै नदेखिने (hide )बनाइदिएको छ । ट्वीटरले ट्रम्पको ट्वीटमा फ्याक्ट चेक सँगै राखिदिएपछि उनी ट्वीटरविरुद्ध आगो ओकल्न थालेका छन् । ट्वीटरसँग बदला लिन उत्रिएका ट्रम्पले सामाजिक सञ्जालसँग असीमित अधिकार रहेको भन्दै तिनलाई नियमन गर्न एक दिनअघि मात्र राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कार्यकारी निर्देशन जारी गरेका थिए । ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेको भन्दै उनको उक्त ट्वीट हाइड गरिएको ट्वीटरले जनाएको छ ।
ट्वीटरले नदेखिने बनाएको राष्ट्रपति ट्रम्पले गरेको उक्त ट्वीट फेरि जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरियो । तर त्यो ट्वीट पनि ट्वीटरले हाइड गरिदिएको छ ।
यद्यपि, हाइड गरिएको ट्वीटमा के थियो भन्ने हेर्न चाहनेले भने हाइडको अप्सनमा गएर क्लिक गरी हेर्न सक्छन् । तर त्यसमा चेतावनीको संकेत राखिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु