ट्रम्पको ट्वीटले भारतको चिन्ता

२०७५ कार्तिक १८ गते, आईतवार

काठमाडौं, १८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले चिन्ता बढाएको हो । ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् । यसअघि भारतीय अधिकारीहरुले ईरानसँग तेल खरिदमा भारतलाई अमेरिकाबाट छुट प्राप्त हुने संकेत पाएको जनाएका थिए ।
भारतीय अधिकारीहरुको अपेक्षाविपरीत ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘प्रतिबन्ध लागू हुँदैछ, ५ नोभेम्बर ।’ उनको यो ट्वीटले अमेरिका आफ्नो नीतिमा अडिग रहेको संकेत गरेको छ । अमेरिकाको चेतावनीका बाबजुद भारतले ईरानसँग तेल खरिद गर्ने निर्णय गरेमा भारतको यसपटकको दीपावली फिक्का हुने देखिन्छ । अमेरिकाले ईरानसँग तेल खरिद गरेमा भारतमाथि तत्कालै कडा प्रतिबन्ध लगाउने सक्ने कुटनीतिक मामलाका विज्ञहरु बताउँछन् । भारतमा दीपावली पर्व उल्लासपूर्वक मनाउने गरिन्छ । दीपावलीकै समयमा अमेरिकाले प्रतिबन्ध घोषणा गर्नुपर्ने अवस्था आएमा त्यसले भारतको चिन्ता बढाएर दीपावली नै फिक्का हुन सक्ने जानकारहरु बताउँछन् ।
भारतले यसअघि नै अमेरिकालाई चिढ्याइसकेको छ । अमेरिकाको सुझावविपरीत भारतले रुससँग हतियार सम्झौता गरेर अमेरिकालाई चिढ्याएको हो । अमेरिकाको प्रतिबन्धविपरीत अब ईरानसँग तेल खरिद गर्ने हो भने भारतले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने देखिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले केहीसाता अघि भारतले चाँडै नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । उनले रुससँग भारतले खरिद गर्न सम्झौता गरेको क्षेप्यास्त्र प्रतिरोधी सिस्टमका बारेमा केन्द्रीत रहेर उक्त प्रतिक्रिया दिएका थिए । अमेरिकाको प्रतिबन्धका बाबजुद अब ईरानसँग पनि भारतले तेल खरिद गर्ने हो भने ट्रम्प प्रशासनले भारतविरुद्ध कडा कदम चाल्ने निश्चितप्रायः छ ।
उल्लेखनीय छ, भारतले गणतन्त्र दिवसका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथि बनाएर सम्बन्धलाई सुधार्न केही प्रयास गरे पनि ट्रम्पले आफू भारत भ्रमणमा नआउने जनाइसकेका छन् । अमेरिकाले ईरानमाथि हालै नयाँ प्रतिबन्ध लगाएको छ । सन् २०१५ मा भएको ईरान परमाणु सम्झौताबाट आफूलाई अलग्याउँदै ट्रम्प प्रशासनले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएको हो । भारतले ईरानसँग तेल खरिद गर्न जारी राख्ने हो या अमेरिकाको प्रतिबन्धलाई स्वीकार गर्दै उसले इरानसँगको वर्षौं पुरानो सम्बन्धलाई तोड्ने हो, त्यो भने प्रष्ट भइसकेको छैन । -एजेन्सी

प्रतिक्रियाहरु