टेलिकमले ‘मोबाइल रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याउने

२०७१ माघ ९ गते, शुक्रबार

उने
काठमाडौं । नेपाल टेलिकमले ‘मोबाइल रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटो र सजिलो तरीकाले रकम नेपाल पठाउन सक्नेछन् । विप्रेषणको प्रक्रियागत झन्झटलाई कम गर्दै सम्बन्धित व्यक्तिसम्म तत्काल रकम पठाउन मिल्ने गरी मोबाइल रेमिट्यान्सको योजना बनाएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । ‘प्रयोगकर्तालाई यो सेवाबापत निश्चित पासवर्ड उपलब्ध गराइन्छ,’ उनले भने, ‘त्यसैको आधारमा यहाँ (नेपालमा) नजीकको बैङ्कबाट रकम प्राप्त गर्न सकिन्छ ।’ टेलिकमको यो सेवा नेपालभित्रका ग्राहकले समेत प्रयोग गर्न पाउनेछन् । नेपालमै पनि एउटा मोबाइलबाट अर्को मोबाइलमा रकम स्थानान्तरण गरी कारोबार गर्न सकिने टेलिकमले बताएको छ । ‘यो एक किसिमले मोबाइल वालेटकै संरचनामा आधारित छ,’ आचार्यले भने, ‘जो जहाँसुकै भए पनि मोबाइलमार्पmत नै कारोबार गर्न सकिने सुविधा यसमा उपलब्ध हुनेछ ।’ मोबाइलबाट कारोबार गर्न सकिने भए पनि त्यसलाई नगदका रूपमा रूपान्तरण गर्न भने ग्राहकले बैङ्क भने पुग्नैपर्ने हुन्छ । ‘राष्ट्र बैङ्कको नियमअनुसार नगद कारोबार वित्तीय संस्थामार्पmत नै गर्नुपर्ने भएकाले ग्राहकले पनि यसको पालना गर्नैपर्छ,’ आचार्यले भने । दुई पक्षबीच कारोबारका लागि भौतिक उपस्थिति नै हुनुपर्ने बाध्यता भने मोबाइल रेमिट्यान्सले अन्त्य गरिदिने उनले बताए । त्यस्तै क्रेडिटकार्डको प्रयोग गर्नुपर्ने ठाउँमा पनि मोबाइल रेमिट्यान्स सजिलै उपयोगमा ल्याउन सकिनेछ । ‘किनमेल, टिकट खरीद, ट्रान्सफरमा प्रयोग हुने क्रेडिट कार्डको ठाउँमा मोबाइल रेमिट्यान्समार्पmत सम्बन्धित पक्षको मोबाइलमै रकम पठाउन पनि सकिन्छ,’ उनले भने ।
मोबाइल रेमिट्यान्सले दुई पक्षबीच हुने व्यक्तिगत तथा संस्थागत कारोबारलाई झन् सहज बनाउने टेलिकमको भनाइ छ । मोबाइल प्रयागकर्ता बढ्दै जान थालेपछि टेलिकमले वित्तीय कारोबार सहज बनाउन यस्तो योजना अघि सारेको हो । आचार्यका अनुसार अहिले यस्तो सेवामा भइरहेका अभ्यास तथा सञ्चालन विधिका बारेमा टेलिकमले छलफल तथा योजना बनाइरहेको छ । सम्पूर्ण प्रक्रियाको टुङ्गो लगाइसकेपछि मोबाइल रेमिट्यान्सलाई छिट्टै सञ्चालनमा ल्याउने तयारीमा टेलिकम रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु