टेलिकमको साङ्गीतिक कार्यक्रम

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौँ, ११ वैशाख । नेपाल टेलिकमले भूकम्पमा परी दिवङ्गत भएकाहरुको स्मरणमा चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन तथा मधुर साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यही वैशाख १२ गते टुँडीखेलमा आयोजना गरिने सो कार्यक्रममा कुटुम्ब ब्यान्ड, सुगम पोखरेल, श्रेया सोताङ लगायत कलाकारका मधुर साङ्गीतिक प्रस्तुति रहने छ । साँझ ५ बजे सुरु हुने उक्त कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा विभिन्न प्रतिष्ठित व्यक्तिको सहभागिता रहने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । टेलिकमले गत वर्षको भूकम्पको दुःखपूर्ण समयमा ग्राहकलाई निःशुल्क भ्वाइस तथा डाटा सेवा उपलब्ध गराएको थियो । कम्पनीले वैशाख १२ गते भूकम्प गएपछिको समय (मध्याह्न १२ बजे) देखि वैशाख १७ गते रातको १२ बजेसम्म रु एक अर्ब ४६ करोड बराबरको जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पूर्ण कल (अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय) एवम् एसएमएस तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको थियो ।
भूकम्पबाट विस्थापित भई शिविरमा बसेका पीडितको सुविधाका लागि कम्पनीले निःशुल्क वाइफाइ हटस्पटको व्यवस्था समेत गरेको थियो ।
टेलिकमले कम्पनीका तर्फबाट रु २५ करोड, कर्मचारीका तर्फबाट रु दुई करोड ७५ हजार र सञ्चालक समितिका पदाधिकारीका तर्फबाट रु ८१ हजार ६०० प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएको थियो । कम्पनीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारको निर्देशन एवम् योजनाको परिधिभित्र रही तीन वर्षभित्रमा रु एक अर्ब खर्च गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको थियो । -रासस

प्रतिक्रियाहरु