टेलिकमको ग्राहक सवा करोड नाघ्यो

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडौँ । नेपाल टेलिकमकाले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार उसको कुल ग्राहक १ करोड २८ लाख २७ हजार ७ सय पुगेको छ । यो ग्राहक संख्या ६ वर्ष अगाडिको तुलनामा १ सय ३४ प्रतिशत बढी हो । २०६७ असार मसान्तमा टेलिकमका ग्राहक संख्या ५४ लाख ६४ हजार थियो । ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दूरसञ्चार सेवाको प्रयोग बढी भएकाले ग्राहक संख्या बढ्न पुगेको प्रबन्ध निर्देशक बुद्धि आचार्यले बताए । ‘सेवाको माग सृजना गर्न सकिने क्षेत्र पहिचान गरी पूर्वाधार बनाउने तयारीमा छौं,’ उनले भने, ‘जसले आगामी वर्षसमेत विगतझैं टेलिकमको हिस्सा बढाउन सहयोग पुग्नेछ ।’ अर्काेतर्फ इन्टरनेट प्रयोगकर्ता बढदै जाँदा त्यसको सिधा फाइदा टेलिकमलाई पुगेको हो । टेलिकमको जीएसएम मोबाइल प्रयोगकर्ता २०६७ मा ३९ लाख ६० हजार रहेकामा २०७२ जेठ मसान्तसम्म यो संख्या १ करोड ७ लाख ८० हजार ६ सयभन्दा बढी छ । ग्राहक संख्या बढे पनि विश्वव्यापीकरणका कारण सस्तोमा नयाँ प्रविधिद्वारा सेवा पु¥याउनु कम्पनीका लागि चुनौती भएको उनले बताए । कम्पनीले २०७२–७३ को अन्तसम्म कम्पनीको कुल ग्राहक १ करोड ५२ लाख ६६ हजारभन्दा बढी पु¥याउने योजना बनाएको छ । त्यस्तै २०७३–७४ को अन्त्यसम्म कुल ग्राहक संख्या १ करोड ७६ लाख ५ हजार बढी पु¥याउनका लागि काम भइरहेको आचार्यले बताए । ‘स्तरीय सेवा र सुविधाको विविधता ग्राहक बढाउने मुख्य आधार हुन्,’ उनले भने, ‘यसतर्फ ध्यान पु¥याएर टेलिकमले आफ्नो प्राथमिकता तय गरेको छ ।’
हाल दूरसञ्चार सेवाको बजारमा टेलिकमको हिस्सा ४६ प्रतिशत रहेका दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । हाल जीएसएम मोबाइलमा दोस्रो स्थानमा रहे पनि अन्य सेवाका कारण टेलिकमले आपूmलाई दूरसञ्चार सेवा प्रदायकको सूचीमा अग्रपंक्तिमा उभ्याएको छ । ‘जीएसएम मोबाइलमा पनि नम्बर एक हुने प्रयास गरिरहेका छौं,’ उनले भने । सहरी क्षेत्रको तीव प्रतिस्पर्धामा ग्राहक बढाउन र सेवाग्राहीको समय बचत गराई सन्तुष्टि बढाउनका लागि नयाँ प्रविधिअन्तर्गत ‘भ्यालु एडेड’ सेवाको वितरण र एकीकृत बिलिङ प्रणालीमा टेलिकमले काम थालेको छ । हरेक सेवाको फरक फरक बिलिङका कारण सेवा लिए बापतको रकम तिर्न बढी समय खर्चिनुपर्ने हुन्छ । ‘एकीकृत बिलिङ प्रणालीपछि जुनसुकै सेवा प्रयोग गरे पनि एउटै बिलद्वारा रकम बुझाउन सकिन्छ,’ उनले भने । यसअघि कम्पनीले सेवाग्राहीको सहजताका लागि महसुल भुक्तानीका लागि रिचार्ज कार्ड, ई–रिचार्जको सुविधा ल्याइसकेको छ । जसले महसुल बक्यौता हुने सम्भावना घटेको र अग्रिम आय पाउने स्थिति रहेको छ । ग्राहकसँगै आम्दानी बढेका कारण २०७१ मा टेलिकम कम्पनि उत्कृष्ट करदाता बन्यो । यो स्थितिलाई कायम राख्नका लागि सेवा र सुविधालाई बढी प्रभावकारी बनाउन आवश्यक भएकाले अप्ठयारा ऐन र नियम संशोधनमा सरकारले सहयोग गर्नुपर्ने उनले बताए । दूरसञ्चार सेवामा टेलिकमसँगै ६ वटा सेवा प्रदायक उपस्थित छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु