‘टावरमा मात्र होइन, टाउकोमा बम हान्नुपर्छ ‘

२०७३ असार १३ गते, सोमबार

काठमाडौँ , १२ असार । एनसेलले नेपाली जनतालाई लुटिरहेको र राज्यलाई छलिरहेको भन्दै करका दायरामा ल्याउनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एनसेलले जनता र राज्यलाई एकैसाथ लुटेको बताए । “महंगो शुल्क तर गुणस्तरहिन सेवा दिएर जनतालाई लुटेको छ भने तिर्नै पर्ने कर नतिरेर राज्यलाई ठगेको छ” बास्तोलाले भने ।
आइतबार काठमाडौँको संवाद डबलीमा देशभक्त संघीय जनवादी मोर्चाले आयोजना गरेको ‘एनसेल वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्तोलाले नेपालको कानुनले दालाल पुँजिपतिको रक्षा गर्ने भएकाले एनसेलले राज्यलाई कर नतिरेको बताए । “नेपालको कानुन दलाल वर्गको रक्षा गर्न निर्माण गरिएको हो त्यसैले एकाधिकार पुँजिपति वर्गले जनता लुटिरहेको छ” उनले भने । बास्तोलाले आफ्नो पार्टीले एनसेलमाथि कार्वाही नगरेको तर पार्टीको आह्वानमा जनताले कार्वाही गरेको बताए । आफ्नो पार्टीले नै कार्वाही गर्नुपर्ने अवस्था आए एनसेलले नेपालबाट भाग्नुपर्ने आवस्था आउने बताए ।
कार्यक्रममा प्रस्तुत अवधारणमाथि टिप्पणी गर्दै बास्तोलाले एनसेलका टावरमात्र होइन टाउमाथि बम हान्नु पर्ने अवस्था आएको बताए । “एनसेलका टावरमाथि मात्र बम होइन, जनतालाई लुट्नुपर्छ भन्ने चिन्तनलाई भत्काउन टाउकोमा बम हान्नुपर्छ” बास्तोलाले भने ।
उनले आफ्नो पार्टीको नेतृत्वमा बनेको नयाँ सत्ता र कानुनलाई एनसेल र यस्ता कम्पनीले कर तिर्नुपर्ने बताए ।
एनसेल जस्ता बहुरास्ट्रिय कम्पनीले अन्य देशमा जस्तै नेपालमा पनि कानुनको पालना गर्नुपर्ने बताउँदै बास्तोलाले एनसेलले तिर्न बाँकी ४३ अबर कर नतिरे अहिलेभन्दा गम्भीर क्षति भोग्नुपर्ने बताए ।
कम्युनिस्ट न्यूक्लिअसका संयोजक हेमन्तप्रकाश ओलीले एनसेल दलाल कम्पनी भएकोले नेपालका दलाल नेताहरुलाई खरिद गरेर लुट मच्चाइरहेको बताए । एनसेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खरिद गरेकाले ५३ अरब राजस्व नतिरेर बसेको बताए । “एनसेलले राज्यलाई कर नतिरेकोमा देखिएको आक्रोसविरुद्ध प्रधानमन्त्री केपी ओली र प्रचण्डले जसरी सुरक्षा निकाय परिचालन गरे त्यसले के देखायो भने उनीहरुलाई एनसेलले खरिद गरिसकेको छ” ओलीले भने । बाँकी ४३ अरब कर एनसेललाई तिराउनु पर्ने उनको विचार थियो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्यूरो सदस्य रत्नदास जोशीले नेपालको कानुन नमान्ने एनसेल जस्ता बहुराष्ट्रिय कम्पनीविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताए । उनले एनसेलमाथिको कार्वाही ठिक भएको बताउँदै अझै राज्यलाई कर नतिरे आक्रोस बढ्न सक्ने बताए ।
प्रा.डा. गोपाल सिवाकोटी ‘चिन्तन’ ले एनसेलले सेवा शुल्क अनुसार गुणस्तरिय सेवा नदिएर लुटिरहेको भन्दै राज्यलाई कर नतिरे दादागिरी देखाइरहेको बताए । एनसेललाई राज्यले करको दायरामा ल्याउन नसके जनता आफै जुट्ने बताए । “राज्यले एनसेलले सेवा शुल्क अनुसारको गुणस्तरिय सेवा दिइरहेको छ वा छैन नियमत नगरे, कर तिराउन नसक्दा जनताले कानुन हातमा लिन्छन्, यो जनताको अधिकार हो” चिन्तनल भने । राज्यले कानुनी राज लागु नगर्दा जनताले जनयुद्धमा कानुन हातमा लिएको भन्दै एनसेललाई राज्यले कर तिराउन नसके त्यो जिम्मा जनताले लिन चिन्तनले बताए । विकसित देशहरुमा सेवा शुल्क अनुसारको गुणस्तरिय सेवा दिन नसके वा अबरोध भए क्षतिपूर्ति तिर्नुपर्ने कानुनको पालना गर्दै आएपनि नेपालमा त्यो पालना नभएको बताए । विदेशी लगानी ल्याउने भनेको लुट मच्चाउन दिन नभएको उनको धारणा थियो ।
कार्यक्रममा नेकपा माओवादीको केन्द्रीय सदस्य गुणराज लोहनीले ‘एनसेल वास्ताविक र भ्रम’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा एनसेलबारे विस्तृत जानकारीसहित उसले जनतालाई कसरी ठग्छ भन्ने कुरा उल्लेख गरेका छन् ।
कार्यक्रम संघीय जनवादी मोर्चाका अध्यक्ष शंकर खड्का र महासचिव खुमा सुवेदीले एनसेलको लुटविरुद्ध सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु