टर्कीमा ८ प्रहरी अधिकारीको हत्या

२०७३ भाद्र १० गते, शुक्रबार

काठमाडौ, १० भदौ । टर्कीमा ८ जना प्रहरी अधिकारीको हत्या भएको छ । यहाँको विद्रोही संगठन ‘पिकेके’ले गरेको हमलामा उनीहरुको हत्या भएको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कारबम हमला गरेका थिए । सो विस्फोटमा परी अरु पनि कम्तीमा ४५ जना नागरिक नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको र सो हमलास्थलमा हाल कडाइ गरिएको बताइएको छ । विस्फोट शक्तिशाली रहेको प्रहरीले जनाएको छ । विस्फोटपछि कालोधुवाँको मुस्लो उडेका दृश्यहरु टेलिभिजनले देखाएका थिए । ‘अनादोलु’ समाचार समितिले दिएको जानकारीअनुसार सो प्रहरी कार्यालयमा भएको बम विस्फोटबाट अधिकांश प्रहरी नै घाइते भएका छन् ।
उक्त दुर्घटनास्थलमा प्रहरीका एम्बुलेन्सका साथै हेलिकोप्टर पनि पठाइएको छ । सो हेलिकोप्टरबाट उद्वारका साथै थप आक्रममण नहोस् भनेर निगरानी भइरहेको छ । पछिल्लो समयमा टर्कीमा यस्तो आक्रमण लगभग दिनहुँजसो भइरहेको छ । टर्कीमा जारी रहेको हिंसाप्रति सबैको ध्यानाकर्षण भएको बताउने गरिएको छ । – रासस/एएफपी

प्रतिक्रियाहरु