ज्यानमारा प्रश्न – बलराम तिमल्सिना

२०७५ बैशाख १९ गते, बुधबार

बडे बडे महानहरूको तलुवा मुन्तिर
थिचिदै रित्तिदै निचोरिदै
एक अभिसप्त जिन्दगी वाँच्न
आदत बसिसकेकाहरूलाई
तुच्छहरूको समुहबाट
टिपेर यौटा तुच्छ जिन्दगी
लु यसलाई अगुवा मान भन्दा
यौटा तुच्छले अर्को तुच्छलाई
आफूजस्तै तुच्छलाई
आफ्नो अगुवा मान्न
मनभित्रको मनले स्विकृति देला त ?

ठूलो रुखको सित्तल तापिरहेका
सित्तल प्रेमीहरूलाई
रुखमा विषालु सर्प बसेको छ भन्दै
चौतारीबाट उठाएर
ससाना विरुवा रोप्न लगाउँने
पानी हाल्न लगाउँने गर्दा
सित्तल ताप्न बानी परेकाहरू
गर्मीको तातो घाममा
विरुवा रोप्ने कठीन काममा
खुसी खुसीले आउलान त ?

धौले घरको पिँढीमा
टपरी थापेर खान बानी परेकाहरू
जुठो खाइएको रहेछ भन्ने बुझेपछि
मालिकको जुठो खान छोडेर
कैयन छाक भोकै बस्ने आँट गरी
बाँझो फुटाउँन आउलान त
बीऊ रोप्न आउलान त ?

अलिकति जम्ला हात गरिदिएपछि
अलिकति स्वाभिमान धरौटी राखेपछि
मालिकको कुरा काटने मुखलाई
हल्का सिलाइदिएपछि
मुखैमा आएको नियुक्तिको मौकालाई
लात्तले हिर्काउँने खतरा मोलेर
बिक्न योग्य नगदे बालीजस्तै दिमाग
क्रान्तिको उधारो सपनामा खराव गर्न
खाईपाई आएको सुख छोडेर
ससाना सिन्का बटुलेर
नयाँ घर बनाउँछु भन्दा
नयाँ घरको सर्जकले
त्यति छिट्टै पत्याएर
लोभले नोकर बनाएकाहरू
दह्रा हात मिलाउँन आउलान त ?

महानको पछि लागिरहेकाहरू
पछि लाग्ने सुविधा छोडेर
तुच्छहरूको जुलुसमा
अघि अघि कुद्न आउलान त ?

प्रतिक्रियाहरु