जो अगुवा उही बाटो… उखान चरितार्थ नगर

२०७२ माघ १६ गते, शनिबार

हालै सार्वजनिक भएको एक अध्ययनले नेपालमा सबैभन्दा भ्रष्ट नेता, त्यसपछि सरकारी कर्मचारीलगायत भएको देखाएको छ । देशमा सुशासन गर्ने जिम्मा पाएका नेता र कर्मचारी नै यसरी भ्रष्टाचारमा लिप्त हुनु ज्यादै निन्दनीय र लज्जित विषय हो । यसैगरी, सरकारले हालै दोहोरो सुविधा लिने उच्च पदस्थ पदाधिकारीलाई दोहोरो सुविधा लिन नपाउने प्रस्ताव पास गरेको छ । यो प्रस्ताव पास भएसँग दोहोरो सुविधा लिनेहरु आफ्नो ब्रह्मलुट रोकिने भयो भन्दै कोकोहोलो मच्याउन थालेका छन् । यी समग्र विषय हेर्दा हाम्रो देशमा जो अगुवा उही बाटो…. भनेजस्तो भएको छ । देश भूकम्प र नाकाबन्दीले गर्दा थिलथिलो भएको छ । जनता अभाव, महँगी र कालोबजारीबाट आक्रान्त भएका छन् । तर, देशको शासनको बागडोर हाँक्ने, प्रशासन चलाउने र सुशासनको जिम्मा पाएकाहरु नै यसरी आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुनु कत्तिको जायज हो ? हो नेपाली जनता सहनशील छन्, उनीहरुले भूकम्पलाई प्राकृतिक विपद भनी सरकारले उनीहरुको हितमा सिन्को नभाँचे पनि एक वर्षा र हिँउद कष्टका साथ काटे । नाकाबन्दीका विरुद्ध पनि राष्ट्रिय स्वाधीनताको पक्षमा भन्दै कैयौँ छाक भोकभोकै बसे । तर, सरकारको विरुद्ध उत्रिएनन् । बरु, सरकारलाई नै भारतसँग घुँडा नटेक्न खबरदारी गरिरहे । जनताको यही सहनशीलताको फाइदा उठाइँदै यो देशका राजनीतिक दल, नेता र उच्च पदस्थ कर्मचारी र पदाधिकारीहरु राज्यकोषको दोहनमा लागिपरेका छन् । अब जनता तिमीहरुको यो ब्रह्मलुट टुलुटुलु हेरेर सहेर बस्ने पक्षमा छैनन् । तसर्थ, समयमै राज्यकोषमाथि ब्रह्मलुट गर्न छोडी राष्ट्र र जनताको पक्षमा काम गर्न थाल, अन्यथा जनता चुप लागेर बस्नेवाला छैनन् । तिमीहरुको जो अगुवा उही बाटो… को प्रवृत्तिलाई नाङ्गेझार पार्न जनता अब सडकमा ओर्लने छन्, जनता सडकमा ओर्ले भने के हुन्छ, त्यो कसैलाई सम्झाइरहनु नपर्ला, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु